२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

नेपालगञ्जमा सुरु भयो १५ लाख सम्मको घर बिमा निःशुल्क



  • आफ्नै खबर
  • २८ चैत २०८१ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ६४
  • बाँके/  नेपालगञ्ज उपमहानगरपालिकाले दुई वटा वडामा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाले वडा नं. ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको हो ।

    उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गर्नुभयो । उहाँले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताउनुभयो । 

    विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ ।’

    विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा दुई वडाका दुई वडाका करिब सात सय ५० घरमध्ये एक सय ५१ समावेश हुनेछन् । दुई वडामध्ये नेपालगञ्ज–३ का एक सय नौ र सातका ४२ घर समेटिएका छन् । विष्टले भन्नुभयो, ‘विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाइसकेका छौँ । यसले विपद्पछिको पीडा कम गर्न काम गर्ने छ ।’  

    उपमहानगरपालिका विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बिमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बिमा कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । 

    आवासीय घर बिमाका लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाख रुपैयाँभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।  

    पन्ध्र लाख रुपैयाँको बिमा गर्दा पाँच सय ८४ रुपैयाँ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बिमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बिमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बिमा हुने जानकारी दिनुभयो । 

    पालिकाको वडा नं. ३ र ७ मा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम बढी छ । घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बिमा कार्यक्रम कार्यान्वयन गर्न लागिएकोे उपमहानगरपालिकाले जनाएको छ । यहाँ सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालनमा छ ।

    –रासस