२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

नेपालले म्यानमार सरकारलाई दियो २७ टन राहत सामग्री



  • उमा शर्मा
  • २८ चैत २०८१ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ७२
  • म्यानमार/  नेपालले म्यानमार सरकारलाई २७ टन बराबर राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो । 

    यान्गुन अन्तरराष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तपस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् । 

    सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो । सोह्र सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र पत्रकारलगायत हुनुहुन्थ्यो ।

    त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै नेपालमा २०७२ सालको भूकम्पको समयमा म्यानमार सरकारले गरेको सहयोग स्मरणसमेत गर्नुभयो । 

    ‘म्यानमारमा भूकम्पले ठूलो क्षति गरेको छ । यस्तो अवस्थामा नेपाल सरकार र निजी क्षेत्रबाट प्राप्त २७ टन बराबर राहत सामग्री यहाँको सरकारलाई उपलब्ध गराइएको हो’, सहसचिव अधिकारीले भन्नुभयो, ‘नेपाल सरकारले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिनेछ । यसप्रकारको सहयोग आदानप्रदानले दुई देशबीचको मित्रता अझ प्रगाढ बन्नेछ ।’

    त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार पाँच सय ९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार आठ सय भन्दा बढी घाइते र एक सय ४८ बेपत्ता छन् । 

    म्यानमारका लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो । 

    म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा ७.७ रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो । राजदुत घिमिरेले भन्नुभयो, ‘भूकम्पका कारण अझै १५ जना नेपाली नागरिक बेपत्ता छन् । उहाँहरुको खोजी भइरहेको छ । घाइतेहरुको उपचार जारी छ ।’ 

    म्यानमारस्थित नेपालीहरूको छाता सङ्गठन अखिल म्यानमार गोर्खा हिन्दू धार्मिक संस्थामा करिब दुई सय ५० जना भूकम्प प्रभावित नेपालीहरूले आश्रय लिएको पनि उहाँले जानकारी दिनुभयो । नेपाली सेनाको चिकित्सकको टोलीले विगत सात दिनदेखि म्यानमारको भूकम्प प्रभावित क्षेत्रमा पुगी सेवा दिइरहेको छ । 

    नेपाली सेनाको टोलीले हालसम्म एक हजार तीन सय भन्दा बढीको उपचार गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त टोलीले आठ जना जटिल अवस्थाका घाइतेको सफल शल्यक्रिया गरिसकेको छ ।

    –रासस