१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

तीनकुने घटनामा ज्यान गुमाएका महर्जनकी छोरीलाई निःशुल्क शिक्षा



  • आफ्नै खबर
  • ३० चैत २०८१ शनिबार (३ महिना अघि)
  • पाठक संख्या १२०
  • ललितपुर/  तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले निःशुल्क शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    कोषाध्यक्ष श्रेष्ठले मृतक श्रेष्ठको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएकाले उहाँको छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिएको जानकारी गराउनुभएको हो ।

    श्रेष्ठले भन्नुभयो, ‘सविनको परिवारसँग छलफलपछि उहाँहरूको आर्थिक अवस्था कमजोर रहेको थाहा भयो । राम्रो विद्यालयमा पढाउने इच्छा रहेछ । इच्छाअनुसार महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था गरेको छु । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकाका नगरप्रमुखसँगसमेत यस विषयमा कुरा भएको छ ।’

    नेता श्रेष्ठले लामो समयसम्म शैक्षिक क्षेत्रमा योगदान गर्दा धेरैलाई सहयोग गरेको बताउँदै आफ्नो अभिभावक गुमाएकी बालिकाको शिक्षादिक्षाका लागि मानवीयताका आधारमा सहयोग गर्ने बताउनुभयो ।

    नेपाल महिला सङ्घकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले आफूलाई मृतकका परिवारको बारेमा जानकारी गराउँदै आवश्यक व्यवस्थाका लागि अनुरोध गरेको कांग्रेस कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

    –रासस