बागलुङ असारदेखि फागुन मसान्तसम्म ढोरपाटन शिकार आरक्षमा झण्डै १० हजार बढी पर्यटक पुगेका छन् । ढोरपाटन पुग्नेमा विदेशीभन्दा स्वदेशी पर्यटक धेरै छन् ।
चालु वर्षको फागुन मसान्तसम्ममा १० हजार ७ सय पर्यटकले ढोरपाटन भ्रमण गरिसकेको आरक्षका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिनुभयो । छन् । तीमध्ये १२० जनामात्र विदेशी पर्यटक रहेको उहाँले बताउनु भयो । यो अनुपातले चालु वर्षमा १८ हजार बढी पर्यटक ढोरपाटन पुग्ने अनुमान छ ।
गत आर्थिक वर्षमा १५ हजार ७ सय ७० जना आन्तरिक र १ सय ६ जना विदेशी पर्यटकले ढोरपाटन घुमेका थिए । आरक्षले नेपालीलाई प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रलाई १ हजार ५ सय र विदेशीलाई ३ हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । पछिल्लो समय आरक्षले विदेशीसँगै आन्तरिक पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।
ढोरापटनमा पर्याप्त खानेपानी नहुनु र पर्यटकका लागि आरामदायी होटलको अभाव हुँदा ढोरपाटन आउने पर्यटकको सङ्ख्या बढ्न नसकेको स्थानीय बताउँछन् । ढोरपाटन उपत्यका स्तरीय र पर्याप्त होटलको व्यवस्था नहुँदा अधिकांश पर्यटकहरू बुर्तिवाङ बजारमा बास बस्न जानेका गरेका छन् ।
ढोरपाटनमा पर्यटकको बसाइ लम्ब्याउन सके स्थानीयवासीको आम्दानी बढ्ने र जीविकोपार्जनमा सहज हुने स्थानीयको भनाइ छ । ढोरपाटनमा ६ सयबढी घरधुरी छन् । ढोरपाटन उपत्यकामा पुग्न सहज सडक नहुँदा पनि पर्यटकले सास्ती खेप्नुपरेको छ । बुर्तिवाङ–ढोरपाटन जोड्ने ३६ किमी सडक जीर्ण छ भने सालझण्डी–ढोरपाटन सडक आयोजनाको काम १६ वर्षसम्म सम्पन्न नहुँदा पर्यटकले यात्रामा सास्ती खेप्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस