२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

स्थानिय उत्पादन प्रवर्द्धन गर्न हाटबजार



  • आफ्नै खबर
  • १० बैशाख २०८२ बुधबार (२ हप्ता अघि)
  • पाठक संख्या ७२
  • तनहुँ/  भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार सञ्चालन गर्न लागेको छ । ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार सञ्चालन गर्न लागिएको हो । 

    हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि ल्याउन कृषि तथा पशुपंक्षी शाखाले सबैलाई अनुरोध गरेको छ । 

    नगरले सञ्चालन गर्न लागेको हाटबजारले कृषकलाई उत्पादनमा प्रोत्साहन गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आयआर्जन वृद्धि गर्ने अपेक्षा लिइएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘हाटबजारले कृषक र उपभोक्ताबीच पुलको काम गर्ने विश्वास लिएका छौँ, उपभोक्ताले रोजेको र चाहेको कृषिउपज सहज रूपमा खरिद गर्न सक्नेछन् ।’ आवश्यकता अनुसार निश्चित अन्तरालमा हाटबजारलाई निरन्तरता दिने योजना बनाएको उहाँको भनाइ छ ।

    कृषि उत्पादनको बजारीकरण, मूल्य स्थिरता तथा उपभोक्तालाई सहज पहुँचमासहित गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्य राखेर हाटबजार सञ्चालन गर्न लागिएको नगर उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो । 

    सम्पूर्ण किसान, उपभोक्ता, व्यवसायी तथा सरोकार भएकालाई हाटबजारको भरपूर उपयोग गर्न, यसलाई थप व्यवस्थित बनाउँदै दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक सहयोग र सहकार्यका लागि कृषि तथा पशुपंक्षी शाखाले अनुरोध गरेको छ ।

    यसैबीच, नगरपालिकाले उक्त स्थानमा हाटबजार सञ्चालनमा ल्याएपछि उपलब्धिमूलक भएमा भानु–९ को बाइसजँगारमा पनि हाटबजार सञ्चालन गर्ने तयारी गरेको छ ।

    –रासस