२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

एनआरएनए अस्ट्रेलियाले बनाइदियो विद्यालय भवन



  • आफ्नै खबर
  • ११ बैशाख २०८२ बिहिबार (२ महिना अघि)
  • पाठक संख्या ७३
  • जाजरकोट/  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवन हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा  बस्ने नेपालीहरुबाट सङ्कलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । 

    उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उद्घाटन गर्नुभएको हो । २०७९ सालमा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवन एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा निर्माण गरिएको हो । 

    अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताउनुभयो । 

    ‘अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो’, उहाँले भन्नुभयो, ‘पछि विद्यालय निर्माणका लागि पनि सहयोग सङ्कलन गरिएको थियो ।’ 

    विद्यालय भवन निर्माण आठ महिना अघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । उहाँले भन्नुभयो, ‘यो सहयोगका लागि अष्ट्रेलियामा रहेको विभिन्न सङ्घसंस्था र व्यक्तिगरुको योगदान छ । आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ ।’ 

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिनुभयो । त्यसअवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिती थियो ।

    –रासस