सिरहा/ चालु आर्थिक वर्षको नौ महिनामा सप्तरीमा ६ वटा पुल निर्माण भएका छन् भने निर्माणाधीन सात पुलको काम अन्तिम चरणमा पुगेको छ ।
लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीमा सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ ।
शम्भुनाथ नगरपालिका–११ देवधारमा ६ करोड ५८ लाख रुपैयाँ, छिन्नमस्ता गाउँपालिका घोडदह नदीमा एक करोड ९२ लाख रुपैयाँ लागतमा पुल निर्माण भएका छन् ।
यसैगरी, कनकटा–९ र बेल्ही–५ जोडिने सडकमा पर्ने मुत्तनी खोलामा चार करोड पाँच लाख रुपैयाँ लागतमा पुल निर्माण गरिएको छ भने राजविराज–छिन्नमस्ता सडकबाट बेल्हा–६ र ५ भएर बग्ने सप्तरीको घोडदह खोलामा चार करोड ८६ लाख रुपैयाँ खर्चेर पुल बनाइएको छ ।
छिन्नमस्ता गाउँपालिका–५ राजविराज–छिन्नमस्ता सडकअन्तर्गत खिरखौका नदीमा पनि पुल निर्माण सम्पन्न भएको छ । यो पुल पाँच करोड ४२ लाख रुपैयाँ लागतमा सम्पन्न भएको हो । राजविराज–कुनौली सडकमा पर्ने महुली घाडन खोलामा ६ करोड १४ लाख रुपैयाँ लागतमा पुल निर्माण भएको प्रमुख कर्णले बताउनुभयो ।
सप्तरीमा निर्माणाधीन पुलमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको छ । छिन्नमस्ता गाउँपालिका–१ ललापट्टी–बुटनपोखरी भलवाही पुल तीन करोड ७४ लाख रुपैयाँ लागतमा ९७ प्रतिशत सम्पन्न भएको छ ।
सोही निर्माण कम्पनीले तीन करोड ६३ लाख रुपैयाँको लागतमा विसहरिया–१ स्थित भलवाही खोलामाथि बनाइरहेको पुलको काम काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सुरेन्द्र दासले बताउनुभयो ।
रुपनी गाउँपालिका–६ दुधैला खोलामा नयाँ वस्ती नजिकै ६ करोड ५४ लाख रुपैयाँ लागतमा निर्माणाधीन पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । फकहा–बरदहीको बीच मुत्तनी नदीमा पनि धमाधम पुल निर्माण भइरहेको छ । उक्त पुलको वित्तीय प्रगति ८३.५८ प्रतिशत छभने भौतिक प्रगति ८५ प्रतिशत रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
त्यसैगरी, रुपनी गाउँपालिका–६ दुधैला खोला पुलको भौतिक प्रगति ९० प्रतिशत भएको छ । उक्त पुल नौ करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो । शम्भुनाथ नगरपालिका–९ भएर बग्ने भवररा नदीमा चार करोड ७५ लाख रुपैयाँ लागतमा निर्माणाधीन पुलको भौतिक प्रगति ८२ प्रतिशत भएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस