२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

५० प्रतिशत बढे मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक

२०८० सालमा कूल ९६ हजार ६ सय ४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९.७६ प्रतिशतले बढेर एक लाख ४४ हजार सात सय ४५ जना पुगे



  • आफ्नै खबर
  • १२ बैशाख २०८२ शुक्रबार (२ हप्ता अघि)
  • पाठक संख्या ७८
  • मुस्ताङ/  मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका अनुसार २०८० सालको तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन् । 

    २०८० सालमा कूल ९६ हजार ६ सय ४५ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएकामा २०८१ सालमा ४९.७६ प्रतिशतले बढेर एक लाख ४४ हजार सात सय ४५ जना पुगेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । एक्यापका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्क राष्ट्रका पर्यटकको आगमन ५३.७१ प्रतिशतले बढी छ ।

    गत वर्ष सार्क राष्ट्रबाट एक लाख १७ हजार ६ सय १४ जना र अन्य मुलुकका २७ हजार एक सय ३१ जना पर्यटकले मुस्ताङ भ्रमण गरेको कार्यालयको भनाइ छ । कार्यालयका अनुसार २०८१ वैशाखमा २० हजार आठ सय नौ, जेठमा २८ हजार आठ सय ५६, असारमा आठ हजार एक सय ८७, साउनमा तीन हजार पाँच सय ५८, भदौमा ६ हजार ६ सय ७९ जनाले भ्रमण गरेका छन् । 

    त्यस्तै, असोजमा १३ हजार दुई सय १६, कात्तिकमा १४ हजार पाँच सय ७८ र मङ्सिरमा सात हजार पाँच सय ५३ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् । साथै पुसमा ६ हजार नौ सय ७५, माघमा तीन हजार पाँच सय १७, फागुनमा नौ हजार तीन सय २६ र चैतमा २१ हजार चार सय ९१ जना  विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । 

    कार्यालयका अनुसार गत वर्ष कूल ७२ राष्ट्रका पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । कार्यालय प्रमुख गुप्ताका अनुसार मुस्ताङ आउने सार्क राष्ट्रतर्फ ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका छन् । उनीहरु विशेष गरी मुक्तिनाथ दर्शन गर्न आउँछन् । 

    एक्याप जोमसोमका अनुसार २०८० सालमा ९६ हजार ६ सय ४५ जना विदेशी पयटकले मुस्ताङको भ्रमण गर्दा सार्क राष्ट्रतर्फ ७६ हजार पाँच सय १६ जना र अन्य विदेशी पर्यटकतर्फ २० हजार एक सय २९ थिए । 

    केही वर्षयता राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडकमार्ग सहज भएसँगै मुस्ताङ आउने आन्तरिक र बाह्य पर्यटकको उल्लेख्य वृद्धि भइरहेको एक्यापको भनाइ छ । कार्यालयका अनुसार मुस्ताङ आउने एक चौथाई विदेशी पर्यटक अन्नपूर्ण चक्रिय पदमार्ग हुँदै आएका छन् । साथै लमजुङको बेसी सहरदेखि मनाङ हुँदै मुस्ताङ भित्रिने पर्यटकको सख्यामा समेत वृद्धि भइरहेको छ ।

    मुस्ताङबाट दृष्यावलोकन गर्न सकिने निलगिरि र धौलागिरि हिमालको मनमोहक दृष्य एवं यहाँका प्राकृतिक तथा जैविक विविधता अवलोकन गर्न विदेशी पर्यटक आउने गरेका छन् ।

    कालिगण्डकी नदीको तटीय क्षेत्र, यहाँका पृथक भूगोल तथा  प्राकृतिक सौन्दर्यताका कारण पर्यटक आउने गरेका छन् । यहाँका गुम्बा, माने, छोर्तेन र स्तुप पर्यटकीय आर्कषण हुन् ।

    उपल्लो मुस्ताङमा मुस्ताङी राजाको ऐतिहासिक राजदरबार, लोघेकर (घर) गुम्बा, छोसेर गुफा, चिउसी गुफा, लुरी गुम्बा, दामोदरकुण्ड धार्मिकस्थललगायतका पर्यटकीय सम्पदा विद्यमान छन् । 

    यस्तै, प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ, कागबेनीधाम, ढुम्बाताल, स्याउको राजधानी एवं सांस्कृतिक गाउँ मार्फा, गुरुसाङ्वो गुफा, टिटी ताल र सेकुङ ताल लगायतका पर्यटकीय गन्तव्य भएकै कारण मुस्ताङमा पर्यटक आगमनदर बढ्दो छ ।

    –रासस