२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

निःशुल्क शिविरले फर्कायो आँखाको ज्योति



  • आफ्नै खबर
  • १३ बैशाख २०८२ शनिबार (२ हप्ता अघि)
  • पाठक संख्या ६६
  • बैतडी/  बैतडीका दुर्गम गाउँहरूमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । जिल्लाको शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । 

    शिविरमार्फत दुबै पालिकामा गरेर चार सय जनाको आँखाको ज्योति फर्किएको छ । शिवनाथमा सञ्चालन भएको दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा चार सय ५० जनाले सेवा लिएका छन् ।

    जसमध्ये एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र सुल्लेखानमा आयोजना गरिएको शिविरमा एक सय १५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । 

    गाउँपालिकावासीलाई सहज होस् भनेर विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर आँखा शिविरको आयोजना गरिएको अध्यक्ष साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आँखाको उपचारका लागि टाढा जानुपर्ने बाध्यता रहेका नागरिकलाई  स्थानीयस्तरमै निःशुल्क सेवा दिन शिविरको आयोजना गरेका हौँ । शिविरमार्फत सेवा लिएका स्थानीयवासी खुसी भएका छन् ।’

    शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टिमले सेवा दिएको थियो । शिविरमा शिवनाथका मात्रै नभएर मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिकले समेत सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो । 

    यस्तै पुर्चौडीमा सञ्चालन भएको आँखा शिविरमा ९१ जनाको आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको छ । शिविरमा पाँच सय ३५ जनालाई औषधि वितरण र दुई सय १० जनालाई निःशुल्क चस्मा वितरण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिशप्रसाद जोशीले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘गाउँमै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले हामीले बृहत् स्वास्थ्य शिविरको आयोजना गरेका हौँ । जसमा आँखाको चेकजाँचका साथै शल्यक्रिया पनि गरिएको हो ।’

    पुर्चौडीमा सञ्चालन गरिएको बृहत् स्वास्थ्य शिविरमार्फत दुई हजार आठ सय नागरिक लाभान्वित भएका छन् । 

    –रासस