२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

६ कठ्ठा जग्गामै फल्छ वार्षिक तीन लाखको सागसब्जी



  • आफ्नै खबर
  • १३ बैशाख २०८२ शनिबार (१ हप्ता अघि)
  • पाठक संख्या ६८
  • कैलाली/  कैलालीका किसानलाई सागसब्जीखेती घर खर्च चलाउने माध्यम बन्न थालेको छ । यहाँका किसान व्यावसायिक रूपमा सागसब्जीखेती गर्दै आएका छन् । 

    जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरका जगतराम चौधरीले सागसब्जी बेचेर परिवारको भरणपोषण गर्दै आउनुभएको छ । विगत १५ वर्षदेखि व्यावसायिक रुपमा सागसब्जीखेती गर्दै आएको बताउँदै उहाँले यसबाट आकर्षक आम्दानी पनि हुने गरेको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘६ कट्ठामा सागसब्जी लगाएको छु । वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी हुन्छ । आठ जनाको परिवार छ । बालबच्चाको पढाइ, घर खर्च सागसब्जी बेचेर चलाउने गरेको छु ।’ उहाँले जैविक मल मात्र प्रयोग गरेर खेती गर्दै आएको बताउनुभयो । 

    सागसब्जीखेती बिक्रीमा समस्या नहुने बताउँदै उहाँले नजिकैको अत्तरिया बजारमा लगेर सागसब्जी बिक्री गर्ने गरेको जानकारी दिनुभयो । सागसब्जीखेतीबाट मनग्गे आम्दानी हुने उहाँको भनाइ छ । 

    सोही स्थानका धनलाल चौधरीले चार कट्ठा जग्गामा लामो समयदेखि व्यावसायिक सागसब्जीखेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सागसब्जीखेतीबाट वार्षिक दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ । गाह्रोसारो पर्दा ऋण लिनुपर्दैन ।’

    –रासस