२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

बाढी आउँदा तालगाउँमा बज्ने भयो साइरन 



  • आफ्नै खबर
  • १४ बैशाख २०८२ आईतबार (२ हप्ता अघि)
  • पाठक संख्या १३६
  • मनाङ/  नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । 

    गाउँपालिका र एचडिसिएसको सहकार्यमा २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।

    २०७८ साल असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए । 

    बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पुर्याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मर्स्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । 

    पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।  

    वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभयो । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ ।

    स्वचालित उक्त यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उहाँले उल्लेख गर्नुभयो ।

    यदी विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत  खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन् । स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो । 

    सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्नेगरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन ।

    साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो ।

    –रासस