६ असार २०८२ शुक्रबार | 20 Jun 2025 Fri

रातो मच्छिन्द्रनाथको रथारोहण



  • आफ्नै खबर
  • १५ बैशाख २०८२ सोमबार (२ महिना अघि)
  • पाठक संख्या १००
  • ललितपुर/  ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गरिएको छ । लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ  रथारोहण गराउनुभएको हो । 

    रथारोहणका समयमा तोप पड्काएर हर्ष बढाइँ गरिएको थियोे । हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज साँझ रथारोहण गरिएको हो । ञवाल गुठका नाइके प्रेम महर्जनका अनुसार आजको चार दिनपछि रथ तानेर गावहाल पुर्याइन्छ । 

    उहाँले भन्नुभयो, ‘गावहालमा नौ टोलले जात्रा मनाउँछ । गावहाल पुर्याएको भोलिपल्ट भोज गरिन्छ ।’

    ञवाल गुठीका गुठियार रत्न डंगोलका अनुसार रथ बनाउन सुरु भएको १५ दिनमा सम्पन्न हुन्छ । जावलाखेल नपुर्याएसम्म मर्मत गर्ने काम ञवाल गुठीले नै गर्नुपर्ने हुन्छ । 

    उहाँले भन्नुभयो, ‘मच्छिन्द्रनाथसँगै १०८ लोकेश्वर हुन्छन् । लोकेश्वरमध्येका पद्मपाणी लोकेश्वरलाई आज दिउँसो रथारोहण गर्न ल्याउनुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल मच्छिन्द्रनाथको पाउमा अर्पण गरियो । उक्त काम गरेपछि पुजारीले भजन अनि पाठ गर्नुभएको थियोे ।’

    भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रुपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने पुजारी (३२ पानेजुमध्येका एक) कमलराज बज्राचार्यले बताउनुभयो । 

    ‘लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्ने परम्परा छ भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओढाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पुर्याइन्छ ।’

    उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटनको तःबहाल र ६ महिना बुङ्मतीमा राख्ने चलनअनुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियोे । 

    किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । 

    यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारूकामाक्षबाट नेपाल ल्याएका थिए । 

    काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन छ । 

    करुणामयलाई ३२ हातका साथै ४८ फिट अग्लो रथमा विराजमान गराइन्छ । मच्छिन्द्रनाथको रथ  नरेन्द्रदेवका छोरा राजा बरदेवले बनाउने चलन चलाएको मानिने पाटन निवासी सूर्यमान डङ्गोलले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन ।’

    रक्तावलोकितेश्वर मुहार करूणावर्ण हुनाका साथै दुई ठूला–ठूला आँखा अनि दबिएको नाक तथा चार फुट लामो उचाइ रहेको डङ्गोलले जानकारी  गराउनुभयो । द्ृष्टिदेवले शिरमा रत्नमुकुट अनि निधारमा टीका र कानमा रत्नजडित गहना लगाउनाका साथै घाँटीमा कर्काेटनागको रत्नमाला, हातमा चुरा तथा बाला र खुट्टामा कल्लीले सुशोभित हुने गरेका मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा चर्चा गरिएको छ ।

    –रासस