२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

कञ्चनपुरका उखु किसानलाई पाँच वर्षमा एक अर्ब २८ करोड अनुदान



  • आफ्नै खबर
  • १७ बैशाख २०८२ बुधबार (६ दिन अघि)
  • पाठक संख्या ६८
  • कञ्चनपुर/  कञ्चनपुरका उखु किसानले पाँच वर्षमा सरकारबाट एक अर्ब २८ करोड ५३ लाख रुपैयाँ अनुदान पाएका छन् ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म एक करोड ५८ लाख क्विन्टल उखु उत्पादन गरे बापत उक्त रकम किसानलाई भुक्तानी गरिएको हो । 

    कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक कृष्णबहादुर धामीले कञ्चनपुरमा चिनी उद्योगमा क्रसिङ भएको उखुमध्ये दुई करोड ८१ लाख ८१ हजार रुपैयाँ अनुदानका लागि माग नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय अनुदानका लागि आउने किसानको सङ्ख्यामा कमि हुँदै गएको छ ।’ 

    उहाँका अनुसार चिनी उद्योगले क्रसिङ गरेको उखुको परिमाण हेर्दा अनुदान माग नगर्नेे किसानको सङ्ख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा यहाँका एक सय २८ किसानले अनुदान रकम लिएनन् । 

    त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा अनुदान नलिने किसानको सङ्ख्या एक सय ५३ पुग्यो भने आर्थिक वर्ष २०७८/७९मा तीन सय ७६ किसान अनुदान लिन आएनन् । आर्थिक वर्ष २०७९/८० मा दुई सय २६ किसानले अनुदानका लागि माग नगरेको उहाँले बताउनुभयो । 

    आर्थिक वर्ष २०८०/८१ मा अनुदानका लागि माग नगर्ने किसानको सङ्ख्या सात सय १७ पुगेको छ । उहाँका अनुसार पाँच वर्षमा २९ हजार ८४३ किसानले अनुदानका लागि आवेदन दिएका थिए । 

    त्यसमध्ये २३ हजार तीन सय ६ किसानले उखु बिक्री गरेको ६ महिनाभित्रमा अनुदान रकम प्राप्त गरेका छन् भने ६ हजार एक सय आठ किसानले उखु बिक्री गरेको एक वर्षभित्रमा अनुदान रकम प्राप्त गरेका छन् । त्यसैगरी एक वर्षपछि ७० किसानले अनुदान रकम प्राप्त गरेका छन् ।

    चार सय ४७ किसानको भने तीन वर्षदेखि एक करोड ५३ लाख रुपैयाँ अनुदान भुक्तानी हुन बाँकी छ । कार्यालयका अनुसार कञ्चनपुरमा १२ हजार चार सय ४४ बिघाहा क्षेत्रफलमा उखुखेती हुने गरेको छ । उहाँले सरकारले किसानलाई प्रोत्साहनका लागि अनुदान रकम दिने गरेको भए पनि पछिल्लो समय अनुदान माग गर्ने किसान बढ्न थालेको बताउनुभयो । 

    ‘समयमै कृषक सम्बन्धित पालिकामा दर्ता नहुने र उखु कृषकको विवरण समयमै अनुदान भुक्तानी समितिले प्राप्त नगर्दा धेरै किसान अनुदानबाट बञ्चित भएका छन्’, प्रमुख कोष नियन्त्रक धामीले भन्नुभयो, ‘अनुदान वितरणमा ढिलाइ हुने र उखु किसानले अनुदानका लागि आवेदन नै नगरेको लगायतका विषयले अनुदान नलिने किसानको सङ्ख्या बढेको हो ।’

    प्रक्रियागत अल्झन धेरै
    प्रक्रियागत अल्झनका कारण अनुदान लिने किसानको सङ्ख्या घटेको बताइएको छ । ‘सरकारले समयमा अनुदानको रकम भुक्तानी गर्दैन’, उखु किसान हस्तबहादुर रावलले भन्नुभयो, ‘सरकारले दिने अनुदानको रकम दुरुपयोग भएको छ, वास्तविक किसानले अनुदान पाएका छैनन् ।’

    उहाँले यहाँ खुला सीमानाका भएका कारण नेपाली चिनी उद्योगमा भारतबाट उखु आउने र यहाँका किसानले उखु बिक्री गर्न नपाउने अवस्था रहेको बताउनुभयो । 

    त्यसैगरी बेदकोट नगरपालिका–३ का ध्वजबहादुर धामीले तीन वर्षसम्म सरकारले उखुको अनुदान भुक्तानी नगरेको बताउनुभयो । ‘२०७९ साल देखिको अनुदान अहिलेसम्म भुक्तानी भएको छैन’, उहाँले भन्नुभयो, ‘किसानले समयमा अनुदान रकम नपाउँदा खेती गर्न समस्या हुने गरेको छ ।’

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भारतबाट आउने उखु नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरिने बताउनुभयो । ‘नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि सरकारले अनुदान दिएको हो, यसको दुरुपयोग हुनु हुँदैन’, उहाँले भन्नुभयो, ‘त्यसका लागि किसान स्थानीय तह र अन्य सम्बन्धित निकाय चनाखो हुनुपर्छ ।’ 

    सरकारले किसानलाई दिने अनुदान रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा बजेट तर्जुमा कै समयमा विनियोजन गर्ने र स्थानीय तह, चिनी मिल, किसान र भुक्तानी समिति सबैले उखु किसानलाई अनुदान दिने कार्यविधि अक्षरस पालना गरे अनुदान भुक्तानीमा समस्या नआउने उहाँको भनाइ थियो ।

    –रासस