२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

समूह मार्फत आर्थिक समृद्धिको खोजीमा महिला



  • आफ्नै खबर
  • १७ बैशाख २०८२ बुधबार (६ दिन अघि)
  • पाठक संख्या ७५
  • दाङ/  घोराही उपमहानगरपालिका–८ कटुकाकी वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उहाँ जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुनुहुन्छ । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उहाँले बताउनुभयो ।  

    उहाँले भन्नुभयो, ‘नौ कट्ठा जमिन भाडामा ल्याएर आलु र प्याजखेती गरेका थियौँ, आलु उत्पादन राम्रो भयो र प्याज पनि राम्रो भएको छ । दुई वटा टनेल बनाएर खेती गरेका छौँ । कृषि ज्ञान केन्द्र दाङले लक्षित वर्गका लागि बजेट सहयोग गरेको छ ।’

    सोही कार्यालयले २० जनालाइ रु २० हजारका दरले बीउपुँजी सहयोग गरेको उहाँले बताउनुभयो ।  

    उहाँले भन्नुभयो, ‘समूहमा आबद्ध भएपछि सरकारी कार्यालयमा के के कार्यक्रम आउछन्, त्यसका बारेमा जानकारी हुने गरेको छ ।’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दाङले बङ्गुरपालनका लागि खोर बनाउन १० लाख रुपैयाँ बजेट सहयोग गरेको उहाँले बताउनुभयो ।  

    जनचेतना महिला कृषक समूहका अध्यक्ष देउकुमारी चौधरीले वित्तिय साक्षरता सिकेर बचत गर्न, लगानी गर्न, ऋण व्यवस्थापन गर्न, आम्दानी र खर्चमा योजना बनाउन जानेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामूहिक काम गर्दा छिटो र छरितो हुने गरेको छ । खेताला लगाउन नपर्ने सजिलै काम सकिने भएको छ ।’  

    घोराही–१२ का नन्दा योगीले मौरीपालन तालिम लिएर मौरी पाल्न सुरु गर्नुभएको छ । मुक्त कमलरी विकास मञ्च र सोसेक नेपालले तालिमसँगै पाँच घार मौरी दिएको थियोे । मौरीपालन तालिमपछि व्यावसायिक रुपमा पालन सुरु गरेको उहाँले बताउनुभयो ।

    अहिले उहाँसँग १० घार मौरी छन् । उहाँका अनुसार करिब ८६ किलो मह उत्पादन भएको र सबै बिक्री भएको थियोे । पाँच देखि ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको उहाँले बताउनुभयो । गाईबस्तु पालेकोभन्दा सजिलो हुने भएर यो काम राम्रो लागेको उहाँँको भनाइ छ । उहाँका अनुसार तालिमपछि क्षमता विकास र वित्तीय साक्षरता पनि भएको छ ।   

    तुलसीपुर उपमहानगरपालिका–१६ टिक्रालहलौराकी उर्मिला चौधरी पूर्वकमलरी हुनुहुन्छ । उहाँ प्रगति पशुपालन महिला समूहको अध्यक्ष बन्नुभएको छ । समूहमा आबद्ध भएपछि उहाँले च्याउखेतीको तालिम लिनुभयो । त्यसपछि घुम्ती कोषबाट ३० हजार रुपैयाँ लिएर च्याउखेती गर्नुभयो । 

    चार सय लोकल कुखुरा र दुई हजार पाँच सय गिरीराज कुखुरापालन गरेर प्रशस्त आम्दानी गरेको उहाँले बताउनुभयो । समूहले आम्मनिर्भर बनाएकाले यसैलाई निरन्तरता दिने उहाँले बताउनुभयो  । उहाँहरुको ३० जनाको समूह छ । उहाँका अनुसार घुम्ती कोषको पैसा एक वर्षमा साँवामात्रै फिर्ता गर्नुपर्छ ब्याज लाग्दैन ।   

    घोराहीका उपप्रमुख हुमा डिसीले मुक्तकमलरीसँग सहकार्य गरेर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न तालिम दिएर काम गरेका छौँ ।’

    पालिकाभित्र रहेका छाना नभएका मुक्त कमलरीलाई छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाहरुले पालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । सीप सिकेकालाई स्वरोजगार बन्न पनि उहाँले आग्रह गर्नुभयो । 

    मुक्त कमलरी विकास मञ्चका परियोजना अधिकृत सुवोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजनाअन्तर्गत प्रत्यक्ष चार सय ६५ जनालाई सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको छ । 

    लक्षित वर्गमा पूर्वकमलरी, सीमान्तकृत तथा असहाय रहेको बताउनुभयो । महिलाहरुले समूह बनाएर व्यावसायिक कामबाट आम्दानी गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

    –रासस