काठमाडौँ/ नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमीहरूलाई रोमाञ्चक राइडको अनुभव दिने विश्वास सहित कम्पनीले सार्वजनिक गरेको हो ।
नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको जनाइएको छ । जसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ ।
यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स, र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषताहरू समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस राइड मोड डिस्प्ले उपलब्ध रहेका छन् ।
त्यसैगरी पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको जनाइएको छ । जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क दिन्छ । यसमा ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषता रहेको उल्लेख छ ।
मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एन१६० मा उत्कृष्ट डिजाइनको १४ लिटर फुएल ट्यांक, आरामदायी सीट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ ।
सात सय ९५ मिलिमिटरको सीटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेको जनाइएको छ । त्यस्तै पल्सर एन१२५को ७९५ मिलिमिटर सीट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस