२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

वैदेशिक रोजगारी भन्दा मौरीपालन ठिक



  • आफ्नै खबर
  •     (५ दिन अघि)
  • पाठक संख्या ६१
  • चितवन/  पूर्वी चितवनको राप्ती नगरपालिकाका २९ वर्षीय केशव मोक्तान अहिले मौरीपालन व्यवसायमा तल्लिन हुनुहुन्छ । विगत ६ वर्षदेखि उहाँ मौरीपालन व्यवसायमा लाग्नुभएको हो ।

    राप्ती–५ का मोक्तान सन् २०१५ मा विदेश गएर पनि सोचे जस्तो राम्रो नभएपछि नेपाल फर्किएर मौरीपालन व्यवसायमा लाग्नुभएको हो । उहाँले करिब २५ घारबाट सुरु गर्नुभएको मौरीपालन व्यवसाय अहिले एक सय ३५ घार पुर्याउनुभएको छ । विदेशमा भन्दा काम गर्न सके नेपालमा नै राम्रो गर्न सकिन्छ भन्ने सोचका साथ उहाँले यो व्यवसाय सुरु गर्नुभएको हो । 

    उहाँले भन्नुभयो, ‘अहिले पनि कहिले काहीँ कमाउनका लागि विदेश जाउँकी भन्ने भान भए पनि नेपालमा नै कमाउन सकिन्छ भन्ने भएर यो व्यवसाय सुरु गरेको हुँ ।’

    परिवारले सामान्य रुपमा गर्दै आएको व्यवसायलाई नै सशक्त बनाएर उहाँले व्यावसायिक रुपमा मौरीपालन गर्नुभएको छ । आरकेएम पशुपंक्षी कृषि फर्म दर्ता गरेर उहाँले मौरीपालन व्यवसाय सुरु गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा केही गर्न सकिन्छ भनेर युवापुस्तालाई देखाउनका लागि कृषि कर्ममा लागेको हुँ ।’

    मौरीपालन गर्दा चरनको समस्या हुने गरेको भए पनि त्यसलाई सामना गर्दै अघि बढेको उहाँले बताउनुभयो । चरनमा लैजाँदा सामुदायिक वनलाई शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । मौरीले कसैलाई पनि असर नगर्ने भए पनि सामुदायिक वन तथा समुदायले शुल्क लिने चलन हटाउन सके मौरीपालन गर्ने किसानलाई सहज हुने उहाँको भनाइ छ ।

    आफ्नो ससुरा बाले गरेको देखेर उत्साहित भएर मौरीपालन गर्न सुरु गर्नुभएका मोक्तानले अहिले वार्षिक एक हजार नौ सय ५० किलो मह उत्पादन गर्दै आउनुभएको छ । घारलाई बढाएर एक सय ५० पुर्याउने योजना उहाँको रहेको छ । 

    सुरुआतमा व्यवसायमा सोचे जस्तो नहुँदा निराश हुनुभएका मोक्तानलाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २० घार र कृषि विकास कार्यालयले कृषि उद्यमशीलता कार्यक्रमअन्तर्गत ९० घार सहयोग गरेपछि उहाँले मौरीपालन व्यवसायलाई अझै प्रभावकारी रुपमा अघि बढाउनुभएको छ ।

    जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले विदेश जाने योजना बनाएका वा विदेशबाट फर्किएका युवालाई कृषि कर्ममा लगाउन सके आयातलाई प्रतिस्थापन गर्न सकिने भएकाले कार्यक्रमअन्तर्गत युवाहरुलाई समेटिएको बताउनुभयो ।

    –रासस