२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

आकर्षणको केन्द्र बन्दै छहरे झरना



  • आफ्नै खबर
  •     (४ दिन अघि)
  • पाठक संख्या ६०
  • बागलुङ/  बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।

    गाउँपालिकाले २०७५ सालदेखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । 

    पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उहाँले बताउनुभयो ।   

    गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा ६० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवर्द्धनका लागि पनि काम गर्न थालेको बताउनुभयो । 

    ‘यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो । यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । हामी निर्वाचित भएर आएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौँ । सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ । योभन्दा माथि रहेको भैँसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ । पदमार्गले जोड्दै छौँ ।’

    बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो । 

    झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थीहरू झरनामा पुगेर स्नान गर्ने गरेको उहाँको भनाइ छ । पहिले गुमनाम रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, ‘यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन । पहिले झाडीले ढोकेकाले पनि धेरैले थाहा पाएका थिएनौँ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर देखाइयो । त्यसपछि पालिकाले लगानी ग¥यो र अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ । यहाँ बिदाको दिन सयौँ पर्यटक आउँछन् । महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन् ।’

    –रासस