३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

‘संस्कृति संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्छ’



  • आफ्नै खबर
  • २१ बैशाख २०८२ आईतबार (४ महिना अघि)
  • पाठक संख्या १२८
  • काठमाडौँ/  २१ वैशाखः बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले संस्कृतिको संरक्षणका लागि संस्कृत भाषा बचाउनुपर्नेमा जोड दिनुभएको छ ।

    छहारी युवा क्लबले कान्ति भैरव गुरुकुल उत्तरबाहिनी गोकर्णमा आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले संस्कृत भाषाबिना नेपालमा प्रचलित कुनै पनि समुदायको संस्कृति संरक्षण हुन नसक्ने धारणा राख्दै संस्कृत भाषाको संरक्षण पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

    मन्त्री ठकुरीले क्लबका तर्फबाट गुरुकुललाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्नुभएको थियो । कार्यक्रममा वेद विषयका विद्वान् तथा कान्ति भैरव गुरुकुलका संस्थापक अध्यक्ष प्राडा ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो । 

    गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले गुरुकूल शिक्षालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै नगरपालिकाले गुरुकुललाई आवश्यकताका आधारमा सहयोग गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा कविद्वय बाजुराम पौडेल र मधुसुदन पराजुलीले कविता प्रस्तुत गर्नुभयो । सम्मानित व्यक्तित्व पोखरेलले संस्कार र संस्कृतिको संरक्षणका लागि गुरुकुल स्थापना गरिएको बताउनुभयो । 

    कार्यक्रममा प्रतिष्ठा नामक संस्कृत नाटकमा प्रमुख भूमिका निर्वाह गर्ने सर्वाणी पराजुलीलाई १० हजार रुपैयाँ र कदरपत्रसहित गुरुकुलले सम्मान गरेको थियो ।

    –रासस