सर्लाही/ उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो ।
केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार रुपैयाँ बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका–७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।
‘यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ’, केन्द्रका प्रमुख रामकुमार यादवले भन्नुभयो, ‘पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ ।’
बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उहाँको भनाइ छ । केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा ६ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष २७ लाख १५ हजार रुपैयाँमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उहाँले बताउनुभयो । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन् ।
यस्तै, यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य ७१ लाख ११ हजार रुपैयाँ कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ ।
करिब एक सय बिघामा गरिएको आँपखेतीमा ६ हजार रूख छन् । त्यसमध्ये बर्सेनि तीन हजार पाँच सयभन्दा बढी रूखले फल दिने गरेको छ ।
बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताउनुभयो । ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस