दाङ/ वैदेशिक रोजगारीबाट फर्किएका घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।’
बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ ।
थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाउनुभएको छैन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँभने यो दूध अर्काे दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्याउने काम भने थापा आफैले मात्र गर्दै आउनुभएको छ ।
सुरुमा दुईवटा गाईबाट यो पेसामा लाग्नुभएका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको थापाको भनाइ छ ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गर्नुभयो । अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल हुनुभएको हो ।
उहाँले भन्नुभयो, ‘मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु । मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ ।’ गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख रुपैयाँ आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बन्नुभएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस