२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सामाजिक जीवनबाट मुक्त हुने संस्कृति ‘थच्याङ’



  • सुन्दरकुमार थकाली
  •     (४ घण्टा अघि)
  • पाठक संख्या ३५
  • मुस्ताङ/  बारागुङ मुक्तिक्षेत्र–३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवाह गर्ने संस्कार हो । ताङ्वे गुरुङ समुदायमा ५७ वर्ष कटेपछि त्यस्ता व्यक्तिले स्वेच्छिक रूपमा थच्याङ गर्छन् ।

    ‘थच्याङ’को शाब्दिक अर्थ सामाजिक बन्धनबाट मुक्त हुनु हो । यो संस्कृति हिमाली भेकका ताङ्वे गुरुङ समुदायको सदियौँदेखि चल्दै आइरहेको पुरानो सांस्कृतिक प्रचलनका रूपमा लिने गरिएको छ । 

    मुस्ताङमा अझै पनि मुखियाप्रथा विद्यमान छ । मुखियाको अगुवाइमा हरेक सामाजिक कामकाज सम्पन्न हुने गर्छ । गाउँसमाजको बैठक, भेला, खेतीपातीको काजदेखि गाउँमा हरेक कामका सूचना प्रवाह गर्ने कटुवाल (छो) लगायतको काम आलोपालो रूपमा समाजमा बस्नेले गर्नुपर्ने हुन्छ । समाजले तोकेको जिम्मेवारी पूरा नगरेमा वा कुनै कार्यहरूमा अनुपस्थित भएमा समाजलाई जरिवाना तिर्नुपर्ने हुन्छ ।

    समाजले तोकेको यस प्रकारका जिम्मेवारीबाट छुटकारा पाउन ताङ्वे समुदायका गुरुङले ५७ वर्ष पुगेपछि थच्याङ गर्ने प्रचलन अझै जीवन्त रहेको ताङ्वे समाजकी अगुवा सङ्गीता ताङ्वे गुरुङले जानकारी दिनुभयो ।  

    ‘हाम्रो समाजमा ५७ वर्ष नपुगिकन थच्याङ गर्न पाइँदैन । थच्याङ गरेपछि सामाजिक कार्यबाट मुक्त भयो भन्ने सन्देशसहितको संस्कृति हो’, गीता ताङ्वे गुरुङले भन्नुभयो, ‘गाउँले बोलाएको र तोकेको जिम्मेवारीबाट थच्याङ गर्ने व्यक्ति मुक्त हुन्छ । यद्यपि स्वेच्छिक रूपमा काम गर्ने व्यक्तिलाई थच्याङले अवरोध पार्दैन ।’

    उहाँका अनुसार ताङ्वे समाजमा ५७ वर्ष पुगेको उत्सव थच्याङ ऐच्छिक हो । यो समुदायमा सक्नेले थच्याङ गर्छन्, नसक्ने व्यक्तिलाई थच्याङ गर्नुपर्छ भन्ने अनिवार्य नहुने ताङ्वे समाजकी अगुवा सङ्गीताले उल्लेख गर्नुभयो । उहाँका अनुसार थच्याङ व्यक्ति र परिवारसँग जोडिएको एक पृथक संस्कृति हो । 

    पहिलापहिला बिहेबारी धुमधामले गर्न नसकेकाहरूले जीवनको उत्तरार्द्धमा थच्याङ संस्कृतिमार्फत उत्सवका रूपमा मनाउने परम्परा रहेको सङ्गीताले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘यो प्रचलन ताङ्वे गुरुङ समुदायमा मात्रै सीमित छैन । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका १९ वटै गाउँका गुरुङ समुदायले स्वेच्छिक रूपमा ५७ वर्ष कटेपछि थच्याङ पर्व मनाउने प्रचलन छ ।’

    यो संस्कृति गर्दा कुलदेवताको पूजा गर्ने प्रचलन छ । थच्याङ दुई दिनसम्म चल्छ । यस अवधिमा हिमालको कुलदेवतादेखि समुन्द्रभित्रसम्म सांस्कृतिक प्रचलनअनुसार गीत गाउँदै बिदा माग्ने गरिन्छ । 

    संसारिक दुनियाँको प्राणी जगत्, वनस्पतिलगायत छुटकारा पाउने संस्कृति प्रचलन थच्याङ हो । थच्याङ गर्ने व्यक्ति र परिवारलाई गाउँसमाजले ठेकीमा छ्याङ (रक्सी) र खादा लगेर पहिलो आर्शिवाद दिने गरिन्छ । 

    त्यसपछि ताङ्वे समुदाय र अन्य साथीभाइ इष्टमित्रहरूले खादा लगाइदिएर आर्शिवाद दिने प्रचलन रहेको सङ्गीताले उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘आर्शिवाद दिँदा पुरुष व्यक्ति ९९ वर्ष र महिला व्यक्ति ८९ वर्ष बाँचोस् भन्ने कामना गरिन्छ । ताङ्वे समाजमा बिहेबारी गर्दा पुरुषभन्दा महिलाको उमेर १० वर्ष कम हुनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ ।’ 

    थच्याङको दोस्रो तथा अन्तिम दिन समापन हुँदा ५७ वर्ष पुगेका व्यक्ति र उहाँका परिवारलाई घोडामा चढाएर गाउँ परिक्रमा गराइन्छ । घोडामा चढाउँदै समाज र सबैसामु सामाजिक कामबाट मुक्त भएको सन्देश दिने थच्याङ संस्कृतिको मुख्य विशेषता रहेको उहाँले बताउनुभयो ।

    यसैबीच, सोमबार मुस्ताङको जोमसोममा थच्याङ संस्कृति झल्किने गरी परिक्रमा गरिएको छ । समाजका ५७ वर्ष कटेका व्यक्तिको बिदाइमा कुलदेवतालाई सम्झदै ‘जीवनको गतिशील कर्मबाट मुक्त भयो’ भन्दै ताङ्वे सांस्कृतिक गुरुङ भाषामा गीत गाउँदै पुरुष र महिलाले गाउँ परिक्रमा गराइएको हो ।

    ताङ्वे समुदायले थच्याङ गर्दा स्वदेश तथा विदेशमा बस्ने सबै समुदायका मानिस एक ठाउँमा भेला हुने भएकाले यसले छरिएर रहेका समुदायलाई एकापसमा जोड्ने पुलको काम गरिरहेको स्थानीय देवसिंह ताङ्वेले जानकारी दिनुभयो । 

    उहाँका अनुसार यो संस्कृतिमा समुदायका महिला तथा पुरुष स्थानीय मौलिक वेषभूषा र गरगहना लगाएर चिटिक्क सजिसजाउ हुने गर्दछन् । नाचगान गरेर आपसमा रमाइलो गरी यसलाई उत्सवका रूपमा मनाउने प्रचलन रहेको उहाँको भनाइ छ ।

    –रासस