सर्लाही/ हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार प्रश्न गर्दै आएका छन् । उनीहरूले स्थानीय सरकारलाई आफ्नै पालिकामा पठनपाठनको वातावरण बनाउन माग गरेका छन् ।
हरिवनमा बिहीबार आयोजना गरिएको ‘बालबालिकासँग मेयर कार्यक्रम’ मा नगरमा शैक्षिक अवस्था खराब भएको गुनासो गर्दै विद्यार्थीहरूले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न आग्रह गरेका हुन् ।
हरिपुर्वा नगरपालिका–७ डुमरियाका विद्यार्थी अविनाश भण्डारीले गाउँमै रहेको विद्यालयमा पठनपाठन हुन छाडेपछि छिमेकी पालिका ईश्वरपुर जाने गरेको बताए ।
उनले नगरप्रमुख विनोदकुमार साहसँग कहिलेसम्म छिमेकी पालिकाको स्कुल जानू भन्दै गुनासो गरे । भण्डारी अहिले कक्षा ९ मा अध्ययनरत छन् । हरिपुर्वा नगरपालिका–४ स्थित गाउँमा रहेको श्री जनता आधारभूत विद्यालयमा नियमित पठनपाठन नहुने, शिक्षक नियमित नआउने, आए पनि कक्षामा नजाने समस्या रहेको उनको भनाइ थियो ।
‘विद्यालय विद्यालयजस्तो छैन’, छात्र भण्डारीले भने, ‘विद्यालय नै तर्साउने घरजस्तो भएको छ । हामी कसरी उत्साहित भएर पढ्नु ?’
स्थानीय जनप्रतिनिधिले समेत बेवास्ता गरेको उनको गुनासो छ । लामो बाटो छिचोलेर आफूसँगै गाउँका धेरै बालबालिका अहिले दैनिक ईश्वरपुर नगरपालिका–१५ श्री जनता मावि गोनाहाका पढ्न जाने गरेको उनले बताए ।
गाउँमा विद्यालय नियमित नचलेका कारण बालबालिका नियमित स्कुल जाँदैनन् । यसले गर्दा कुलतमा लाग्ने, बीचैमा पढाइ छाडेर हिँड्नेजस्तो समस्या बढ्दै गएको छ ।
यसले गर्दा बालबालिकाको पठनपाठन पूरा हुँदैन । धेरै बालबालिका अहिले पनि पूर्ण रूपमा कुलतमा लागेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । विद्यालय नियमित गरिदिन र आवश्यकतानुसार शिक्षक र भौतिक संरचनाको प्रबन्ध गरिदिन भण्डारीले नगरप्रमुख साहसँग माग गरे ।
हरिपुर्वा नगरपालिका–६ को श्री केश्वर गरिब जनता नमूना माविमा अध्ययनरत छात्रा निलमकुमारी साहको गुनासो पनि उस्तै छ । विद्यालय पठनपाठनमा नभई भद्रगोलमा नमूना भएको उनको गुनासो छ ।
शिक्षा नीतिमा तराईका जिल्लामा एउटा कक्षा कोठामा धेरैमा ४० जना विद्यार्थी राख्न सकिने व्यवस्था छ । तर यस विद्यालयमा एउटै कक्षामा एक सय ५० जनासम्म विद्यार्थी राख्ने गरेको उनले दुःखेसो पोखिन् ।
यसरी सञ्चालन गरेको कक्षामा पढ्ने माहोल नभएको ९ कक्षामा अध्ययनरत छात्रा रीता महतोले बताइन् ।
‘विद्यालयमा कक्षाकोठा पर्याप्त नहुँदा एउटै कक्षामा धेरै विद्यार्थी हुन्छन् । अगाडि बसेर शिक्षकले पढाएको पछाडि बस्ने विद्यार्थीले सुन्दैनन्’, उनले भनिन्, ‘हामीले बारम्बार विद्यालय तथा बाल क्लबको सहायता सम्बन्धी माग राख्दा सुनवाइ भएन ।’
नगरका अधिकांश विद्यालयको हालत उस्तै रहेको सहभागी बालबालिकाको भनाइ थियो । छात्रछात्रा नभएको विद्यालयमा भौतिक संरचना पर्याप्त हुने तर आवश्यक परेका स्थानका बालबालिकाले सुविधा नपाउने अवस्था भोगिरहेको साहले बताए ।
स्थानीय सरकारको दोस्रो कार्यकालको तीन वर्ष सकिन लाग्दा पनि स्कुल वर्षात्मा तलाउ बन्ने र हिउँदमा धुलो उडेर बस्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
अर्कातर्फ विद्यालयमा बेलाबेलामा हुने विवादका कारण सम्पूर्ण पठनपाठन नै अवरूद्ध हुने गरेको छ । यस्तो अवस्थामा सबै विद्यार्थी प्रभावित बनिरहेका सहभागी छात्र राजु रामले बताए । गत शैक्षिकसत्रमा पनि विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद भएको थियो । सोही विवादले निकै समय विद्यालय बन्द रह्यो ।
परीक्षाको केही दिनअघि मात्र पनि एक हप्ता पठनपाठन रोकियो । यसले परीक्षाको समयमा धेरै समस्या भएको उनको अनुभव छ ।
हरिपूर्वा नगरपालिका–१ निवासी सिम्कनु खातुनले किशोर किशोरीमा क्यान्सरजस्तै गरी फैलिरहेको लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गरिदिन आग्रह गर्नुभयो ।
विपन्न परिवारका किशोरकिशोरी परिवारका सदस्यलाई समेत दुःख दिएर यस्ता गतिविधिमा संलग्न हुनेक्रम दिनप्रतिदिन बढ्दो रहेको उहाँको अनुभव छ । यस्ता गतिविधि रोक्न स्थानीय सरकार उदासिन भएको उहाँको आरोप छ ।
कार्यक्रममा नगरप्रमुख साहले छात्रछात्राको प्रश्न तथा जिज्ञासा सुनिसकेपछि आफ्ना गुनासो पनि सुनाउनुभयो । निर्वाचित भएको दुई वर्षसम्म प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँदैमा व्यस्त भएको उहाँको भनाइ थियो ।
‘बाँकी समयमा आफ्नो एजेण्डाअनुसार शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु’, नगर प्रमुख साहले भन्नुभयो, ‘लागुऔषध, बालविवाहलगायत अवाञ्छित गतिविधिमा संलग्न जोकोहीलाई कारबाहीका लागि पहल गरिरहेका छौँ ।’
प्रशासनले तुरून्त कारबाही प्रक्रिया अगाडि नबढाउने र गाउँ समाजले समेत परिवेश र संरचनालाई दोष दिएर उम्किने गरेको उहाँको भनाइ थियो ।
-रासस
प्रतिक्रिया दिनुहोस