२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

जोरपाटीमा खुल्ने भयो ‘आरोग्य वेल केयर क्लिनिक’   

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त स्थानिय चिकित्सकहरुको संलग्नता



  • आफ्नै खबर
  •     (१ दिन अघि)
  • पाठक संख्या ३२०
  • काठमाडौँ/  मुलुककै स्थापित चिकित्सकहरूको संलग्नतामा राजधानीको गोकर्णेश्वर—५ जोरपाटीमा आरोग्य वेल केयर क्लिनिक संचालनमा आउने भएको छ । क्लिनिकको वैशाख २७ गते शनिवार उद्घाटन गरिने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

    क्लिनिकको उद्घाटनमा अर्थ समितिका सभापति एवं काठमाडौं क्षेत्र नम्बर तीनका संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसाल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की सहित वडा अध्यक्षहरू अतिथिका रुपमा सहभागी हुने जनाइएको छ । 

    स्थानीयवासीको सुवास्थ्यलाई उच्च प्राथमिकतामा राखी नाफामुखीभन्दा पनि सेवामुखीभावले सेवा प्रदान गर्ने लक्ष्य राखेको क्लिनिकका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा राजीवकुमार देवले जानकारी दिनुभयो । कुनै पनि रोगको पहिचान एवं रोकथामका लागि ‘विशेष विशेषज्ञ सेवा’ क्लिनिकको मूलमन्त्र रहेको उहाँको भनाइ छ । 

    क्लिनिक शुभारम्भका लागि चिकित्सकसँगै समाजमा स्थापित गैर चिकित्सिकहरूको पनि उत्तिकै साथ सहयोग रहेकाले आफूहरूलाई थप उर्जाशील बनाएको उहाँले बताउनुभयो । 

    क्लिनिकका संचालक रहनु भएका हेल्थ कन्सर्नका प्रमुख कार्यकारी डा. सुवास प्याकुरेलले शुरुमा क्लिनिकको रुपमा खोलिएतापनि निकट भविष्यमै आरोग्यले अस्पताल मार्फत विशिष्टकृत सेवा उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । 

    भविष्यमा शैक्षिक केन्द्रको रुपमा समेत आरोग्यलाई विस्तार गर्न सकिने डाक्टर प्याकुरेलको भनाइ छ । शिक्षण अस्पताल महाराजगञ्जका युरोलोजी विभाग प्रमुख डाक्टर पवन राज चालिसे, किस्ट अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डाक्टर संगिता रेग्मी चालिसे लगायतले स्थानीय स्तरमै खुल्ने यस्ता क्लिनिकबाट सरोकारवाल सबै लाभान्वित हुने धारणा राख्नुभयो । 

    मानवअधिकार तथा शान्ति समाजका निवर्तमान अध्यक्ष रामकृष्ण बराल, हेल्थ कन्सर्नका प्रशासकीय प्रमुख पवित्रा घिमिरे प्याकुरेल, पत्रकार सुदीपकुमार ढुंगाना लगायतले क्लिनिकको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

    क्लिनिकमा मुटुरोग विशेषज्ञ डाक्टर निर्मल घिमिरे, फिजिशियनहरु डाक्टर सन्तोष गौतम, डाक्टर उत्तम लामिछाने लगायतले पनि विशेषज्ञ सेवा दिने जनाइएको छ । 

    क्लिनिकले स्थानीय चिकित्सक तथा पेशाकर्मीहरु मार्फत समुदाय लक्षित हेल्थ स्कृनिङ्ग, रोकथाममुखी सेवा पद्धती, सेकेण्ड ओपिनियन सेवा लगायतका बिरामी र नागरिक केन्दृत सेवा मोडल अङ्गिकार गर्दै इलेक्ट्रोनिक मेडिकल रेकर्डयुक्त हेल्थ कार्डको सेवा प्रदान गर्ने दावी गरेको छ ।