२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

४२१ जना सगरमाथा चुचुरो चुम्ने प्रतिक्षामा



  • सिबी अधिकारी
  • २७ बैशाख २०८२ शनिबार (४ घण्टा अघि)
  • पाठक संख्या ४४
  • काठमाडौँ/  रोप फिक्सिङ्ग गर्ने दक्ष शेर्पा आरोहीलाई जनाउँदै गर्दै आधार शिविरबाट एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले भन्नुभयो, ‘सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने काम (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्याङ टाँग्न पनि कठिन भयो ।’ 

    एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो । सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त्यसअघि आमादब्लम हिमालको चुचुरोमा डोरी टाँगेका थिए ।

    सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक लीलाधर अवस्थीले भन्नुभयो, ‘सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ र अब अन्य आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्नेछन् ।’ 

    सगरमाथा आरोही सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोहणको सकारात्मक सन्देशले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो । आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्द निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको उहाँले उल्लेख गर्नुभयो ।

    एटके एक्सपीडिसन कम्पनीका प्रवन्ध निर्देशकसमेत रहनुभएका आरोही लाक्पा शेर्पाले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ देखि १४ तारिकसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना रहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘मौसम अनुकूल छ । आजदेखि विदेशी आरोहीको आरोहण सुरु हुन्छ । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् ।’

    सगरमाथाको तेस्रो शिविर र चौथो शिविरमा अक्सिजनलगायत सामग्री व्यवस्थानमा शेर्पा कामदार खटिएका छन् भने आरोहण प्रतिक्षामा रहेका आरोही आरोहण अभ्यासमा व्यस्त छन् । आधार शिविरदेखि तेस्रो शिविरसम्म आरोही आवत जावत गरिरहेका हुन् । 

    मे १२ देखि १५ सम्म ‘समिट वीन्डो‘ रहेको र उक्त अवधिमा धेरै आरोहण हुने एक्सिपीडिसन कम्पनीको अनुमान छ । मे १६ र १७ मा हिमपात हुने मौसम पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुरूप यो पटक आरोहणमा जाम हुनसक्ने जनाइएको छ ।

    सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ्गको जिम्मेवारी पाएको एटके कम्पनीका प्रवन्ध निर्देशक शेर्पाले भन्नुभयो, ‘यो पटक सगरमाथामा बाक्लो हिउँले डोरी टाग्न गाह्रो भएको छ । पहिलो वीन्डोमा धेरै आरोहण हुने पूर्वानुमान गरिएको छ ।’

    अशोक लामाको नेतृत्वमा सातजना शेर्पा टोली सगरमाथाको चुचुरामो पुग्न सफल भएको हो । उक्त टोलीमा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । यो पटक सगरमाथाको रोप फिक्सिमा १६ जना शेर्पा खटिएकामा सात जना मात्रै चुचुरोमा पुग्न सफल भएको जनाइएको छ ।

    सगरमाथामा मात्रै नभई ल्होत्से र आमादब्लम हिमालमा पनि बाक्लो हिउँका कारण बाटो बनाउन कठिन भएको जनाइएको छ । जलवायु परिवर्तनको प्रभावले आरोहक्षण क्षेत्रमा बढी रक भेटिएकाले बाटो बनाउनेकार्य कठिन भएको शेर्पाले जनाएका छन् । 

    खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।

    ‘बाटो राम्रो छ, मौसम सफा छ । सयौ आरोही आरोहणका लागि प्रतिक्षरत छन्’, आरोही शेर्पाले भन्नुभयो, ‘मे ११ देखि १५ सम्म धेरै समिट हुने सम्भावना छ । अर्को वेदर वीन्डो मे १९ देखि २४ सम्म रहेको छ ।’

    किर्तिमानका आकाँक्षी
    यो याममा विश्वकीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने तर्खरमा हुनुहुन्छ । टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुग्नुभएको छ । 

    त्यस्तै अर्का विश्वकीर्तिमानी आरोही सानु शेर्पा यो सिजनमा अति विशिष्ट पाहुना लिएर आरोहणमा जानुभएको छ । आठ हजार मिटरभन्दा माथिका हिमाल दुई पटक सफल आरोहण गर्नुभएका उहाँले तेस्रो पटक आठ हजार मिटरमाथिका हिमाल आरोहण गरेर आफ्नै नामको कीर्तिमान भङ्ग गर्ने योजनामा हुनुहुन्छ । 

    भारतकी सबैभन्दा जेष्ठ नागरिक आरोहण गर्ने तयारीमा हुनुहुन्छ । यो पटक एटके कम्पनीबाट सगरमाथा र ल्होत्सेमा गरी ५५ जना आरोही छन् ।

    समुद्री सतहदेखि पाँच हजार तीन सय ६४ मिटरको  उचाइको आधार शिविरमा अध्याधिक चिसो रहेको शेर्पाले जानकारी दिनुभयो । माइनस २० डिग्रिको चिसोको परवाह नगरी आरोही आरोहण अभ्यासमा तल्लिन छन् । शिविरमा चहलपहल छ ।

    शेर्पा ‘हाइ क्याप्स सेट’ (तेस्रो र चौथो शिविर व्यवस्थापन) मा छन् भने आरोही लुक्ला नाम्चे, वेसक्याम्पमा छन् । आधा जसो आरोही तेस्रो शिविरतिर पुगेका छन् ।

    अहिलेसम्मको अवस्था हेर्दा मे १४ र १५ मा सगरमाथामा बढी ट्राफिक जाम हुने सम्भावना रहेको प्रवन्ध निर्देशक शेर्पाले बताउनुभयो । यो पटक धेरै आरोहीलाई सहज होस भनेर चाँडो सगरमाथाको आरोहण खुलाइएको उहाँको भनाइ छ ।

    सन् २०१३ र २०१७ मा सगरमाथाको रोप फिक्सिङ्ग गर्नुभएका लाक्पा शेर्पाले जलवायु परिवर्तनका कारण हिउँ पक्लिएर पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढी रक भेटिएको बताउनुभयो । हिउँ भएको ठाउँमा बाक्लो हिउँ परेको छ ।

    खुम्बु आइसफलमा बढी रक देखिएकोले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसिसी) ले मे २९ मै बाटोका भ¥याङ उठाउने जनाएको छ । पर्यटन विभागबाट ७५ दिनको आरोहण अनुमति लिएर आरोही सगरमाथा गएका छन् । 

    सगरमाथा आरोहण ४० दिनको हुन्छ । आरोही सगरमाथाको चुचुरोमा पुगेपछि दुई दिनभित्र आधारशिविर झर्छन् । उनीहरुले १० देखि १५ दिन तेस्रो शिविरसम्म अभ्यास गर्छन् ।

    सभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाले मौसम अनुकूल रहेकाले यो पटक उत्साहवद्र्धक रूपमा सगरमाथा आरोहण हुने अनुमान गरिएको बताउनुभयो । उहाँको कम्पनीमार्फत यो पटक पनि एक सय भन्दा धेरै आरोही सगरमाथा आरोहणमा गएका छन् ।

    एक्सपीडिसन अपरेटर एसोसिएसनले दोस्रो शिविरदेखि चुचुरोसम्म रोप फिक्सिङ्ग गरेको छ । सपीसिसीले आधार शिविरदेखि दोस्रो शिविरसम्म खुम्बु आइसफल क्षेत्रको बाटो बनाएको थियो ।

    ४२१ लाई अनुमति
    पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार हालसम्म ४४ आरोही समूहका चार सय २१ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । अझै एक÷दुई टीम थपिने विभागको अनुमान छ । 

    सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रुपैयाँ रोयल्टी सरकारी खातामा जम्मा भएको छ । सबै हिमालबाट ७८ करोड रुपैयाँ सङ्कलन भएको छ ।

    –रासस