२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

‘ईश्वर मन्दिर’ को सहयोगले विद्यालयमा ‘इ लर्निङ कक्षा’ 



  • आफ्नै खबर
  • २८ बैशाख २०८२ आईतबार (२१ घण्टा अघि)
  • पाठक संख्या ५०
  • भोजपुर/  भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इ लर्निङ कक्षा’ सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक उपकरण जडान गरिएको छ ।  

    पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको ईश्वर मन्दिर काठमाडौँ नामक सस्थाले आवश्यक कम्प्युटरसहितका सामग्री विद्यालयलाई सहयोग गरेको थियो ।  

    उक्त सस्थाले यहाँका डेढ दर्जन विद्यालयमा ‘इ लर्निङ कक्षा’का लागि कम्प्युटर, स्मार्ट टिभीलगायत आवश्यक सामग्री सहयोग गरिसकेको छ । 

    किताबी ज्ञानभन्दा पनि समयानुकूल प्राविधिक शिक्षा पनि आवश्यक रहेकाले आफ्नो टिमले सामुदायिक विद्यालयमा इलर्निङ कक्ष स्थापनामा सामग्री सहयोग गर्दै आएको पूर्वअर्थमन्त्री कोइरालाले बताउनुभयो । यसबाट विद्यार्थी, शिक्षक कर्मचारीले पनि फाइदा लिनुपर्ने उहाँको भनाइ छ । 

    ईश्वर मन्दिरका अध्यक्ष प्रमेश केसीले गुणस्तरीय शिक्षाका लागि प्रविधिमैत्री बन्न आवश्यक रहेको र विद्यालयमा संस्थाले इ लर्निङ सेन्टर स्थापनाका लागि गरेको सहयोगले सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थी पनि प्रविधिमैत्री र सक्षम हुने बताउनुभयो  । इ लर्निङ कक्षाको दिगो र अधिकतम उपयोग गरेर गुणस्तरीय कम्प्युटर शिक्षा प्रदान गर्ने प्रतिबद्धता विद्यालयले जनाएको छ ।

    ईश्वर मन्दिरका महासचिव सङ्केत कोइरालाले कम्प्युटरको ज्ञान नभई अघि बढ्न नसकिने भएकाले विद्यालयस्तरबाट नै यो अनिवार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कपी र पेन्सिलले मात्र प्रविधिको युगमा अगाडि बढ्न नसकिने भएकाले अनलाइन कक्षाका लागि पनि इ लर्निङ कक्षा आवश्यक देखिएको छ ।’

    –रासस