२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

पर्यटक लोभ्याउने ‘ढुम्बाताल’



  • सुन्दरकुमार थकाली
  • २९ बैशाख २०८२ सोमबार (४ घण्टा अघि)
  • पाठक संख्या ४४
  • मुस्ताङ/  नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय ३० मिटरको अग्लो उचाइमा अवस्थित ढुम्बाताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

    जोमसोम—कोरला राष्ट्रिय राजमार्गदेखि तीन किलोमिटर दूरीमा पर्ने ढुम्बातालसम्म सडकको पहुँच जोडिएसँगै आन्तरिक तथा पर्यटकको उपस्थिति वृद्धि हुन थालेको हो । 

    मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङको कोरलानाका पुगेर फर्किएका पर्यटकले ढुम्बातालको अवलोकन गर्न छुटाउँदैनन् । गण्डकी प्रदेश सरकारले ढुम्बाताल जोड्नेगरी घरपझोङ रिङरोड सडक स्तरोन्नति गरेकाले पर्यटकलाई ढुम्बाताल पुग्न सहज भएको हो ।

    ताल छेउ रेष्टुरेन्ट सञ्चालन गर्नुभएकी सनी थकालीले पर्यटकीय याममा दैनिक दुई सयदेखि पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक ढुम्बातालको अवलोकन गर्न आउने गरेको जानकारी दिनुभयो । 

    ‘विशेषगरी दसैँतिहार र औँसी तिथिमा धेरै पर्यटक यहाँ आउनुहुन्छ । अन्य समयमा औसत ४०/५० जनाको हाराहारी पर्यटक आउँछन्’, उहाँले भन्नुभयो, ‘बर्सेनि सडक सुविधा सहज हुँदै गएकाले पर्यटक सङ्ख्या वृद्धि भइरहेकोे छ ।’

    यो ताल पछिल्लो समय ‘पान बुट्टे’ तालका रुपमा पनि परिचित छ । ढुम्बाताल माथिको अग्लो स्थानबाट अवलोकन गर्दा प्रेम चिह्नका आकारमा देख्न सकिन्छ । यसैका कारण ढुम्बाताललाई पान बुट्टे ताल पनि भन्ने गरिएको छ ।

    करिब एक सय ३० मिटर दूरीमा फैलिएको नीलो रङ्गको ढुम्बाताल अग्लो स्थानको जङ्गलको फेदमा छ । नीलगिरि हिमालको फेदमुनिको मूलको पानी सिञ्चित भएर यो ताल बनेको स्थानीयको भनाइ छ । 

    ढुम्बातालबाट नीलिगिरि र धौलागिरि हिमाललगायत आसपासका डाँडाकाँडा मनमोहक देखिन्छन् । ढुम्बातालमा कुछ्प तेरङ्गा गुम्बा, कालीगण्डकी करिडोरलगायत जोमसोम, ठिनी, स्याङ, मार्फा, सम्लेलगायत गाउँ आकर्षक देखिन्छन् । 

    यसका अलावा ढुम्बातालबाट मार्फा, जोमसोम, स्याङ, ठिनी र सम्ले गाउँलगायतका स्थानका स्याउबारी तथा उवाखेतीले त्यहाँ पुग्ने पर्यटकलाई झनै मोहित तुल्याउने गर्छ ।

    काठमाडौँबाट ढुम्बाताल आइपुग्नुभएकी सोनी अवालले कोलाहल मुक्त स्थानमा रहेको तालमा आइपुग्दा बेग्लै अनुभूति भएको सुनाउनुभयो । ‘तालतलैया त बेंसीमा छन् । तर त्यहाँ निकै नै कोलाहल हुन्छ’, अवालले थप्नुभयो, ‘यहाँको प्राकृतिक सौन्दर्यता र रमणीय कोलाहल मुक्त स्थानले बेग्लै संसारमा आइपुगको महसुस भएको छ ।’ 

    नजिकै रहेको कुछप तेरङ्गा गुम्बाको इतिहाससँग ढुम्बाताल जोडिएको थकालीको भनाइ छ । उहाँका अनुसार परापूर्वकालमा ठिनी गाउँका स्थानीय लामा उर्गेन पाल्साङले तिब्बत पुगेर बौद्ध शिक्षा प्राप्त गरेका थिए । 

    त्यस क्रममा लामा पाल्साङलाई बुद्ध धर्म फैलाउन गुरु दक्षिणा स्वरुपमा गुरुले पद्यसम्भव (गुरु रिन्पोछे)को पाँच रत्न उपहार दिएका थिए । गुरुले पाँच रत्न दिने क्रममा त्यसलाई विशाल हात्तीको सुँढ आकारको पहाड र त्यसको देब्रे दाहिने हिमाल देख्न सकिने, त्यसको तल कालीगण्डकी नदी र उत्तरतर्फ ताल भएको ठाउँमा विराजमान गराउनु भन्ने आदेश दिनुभयो । 

    सोही अनुसार ढुम्बातालको छेउमा गुरु पद्यसम्भवको पाँच रत्न कुछ्प तेरङ्गा प्रतिस्थापन गर्नुभएको भन्ने किंवदन्ती छ ।

    बौद्ध धर्मको चार हाँगामध्ये निङ्पा धर्मसँग कुछ्प तेरङ्गा गुम्बा र ढुम्बाताल सम्बन्धित रहेको स्थानीय थकालीको भनाइ छ । बर्सेनि कुछ्प तेरङ्गा गुम्बामा विशेष धार्मिक पूजाआजा चल्दा ढुम्बातालको जल चढाउने गरिन्छ ।

    ढुम्बाताल कुछ्प तेरङ्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा छ । ताललाई एक्यापअन्तर्गत स्थानीय जोमसोम, ठिनी र सम्ले संरक्षण व्यवस्थापन समितिले संरक्षण गर्दै आइरहेका छन् ।

    गुरु पद्मसम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने गरेको छ । तालको उत्तरतर्फको भागमा ठूलो सेतो ढुङ्गा अवस्थित छ । त्यहाँ नागदेवताको थान रहेको बताइन्छ । तालमा माछा मार्न प्रतिबन्ध गरिएको छ । तालमा माछा खानका लागि लोपोन्मुख पानी हाँसहरु जम्मा हुने गर्छन् ।

    पछिल्लो समय प्रदेश, स्थानीय सरकार, एक्याप, संरक्षण व्यवस्थापन समिति, गुम्बा संरक्षण व्यवस्थापन समिति र स्थानीयवासीको पहलमा ढुम्बातालमा पूर्वाधार विकासमा समेत जोड दिइएको छ । ढुम्बाताल वरिपरि रेलिङसहितको सिँढी बाटो, विश्राम स्थल, हट रुमलगायत विभिन्न सूचनामूलक साइनबोर्डहरुको व्यवस्थापन गरिएको छ ।

    –रासस