२९ बैशाख २०८२ सोमबार | 12 May 2025 Mon

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर



  • आफ्नै खबर
  • २९ बैशाख २०८२ सोमबार (४ घण्टा अघि)
  • पाठक संख्या ४०
  • पर्सा/  वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ । 

    महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो । महानगरले आज वडा नं– २२ जगरनाथपुरमा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे राखिएको पुरानो रोलर मेसिन हटाएको छ । 

    नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुई क्रेनको सहायताले रोलर हटाएको नगर प्रहरी इन्चार्ज हरि भुसालले जानकारी दिनुभयो । 

    महानगरले बसपार्क क्षेत्रमा सञ्चालनमा नआएको एक बस र एक ट्रकलाई पनि हटाएको छ । ती दुवै सवारीसाधनलाई डम्पिङ साइटमा पुर्याइएको छ । महानगरले गत बुधबार पनि वीरगञ्ज बसपार्क क्षेत्रमा दुई बेवारिसे बस हटाएको थियो । 

    वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर हटाउन आह्वान गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउने अभियान थालेको बताउनुभयो ।  

    महानगरले सडक, फुटपाथ, चोक, उद्यान, बसपार्क र अन्य सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारीसाधन तथा संरचनाले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेका कारण ती सवारीसाधन हटाउने कार्य अघि बढाएको हो । 

    प्रमुख सिंहले वीरगञ्जलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक सहरका रुपमा रूपान्तरण गर्ने अभियान थालेको हो । उहाँले भन्नुभयो, ‘सहर हामी सबैको साझा घर हो । नागरिकले नियम पालन गरेमा हामी वीरगञ्जलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौँ ।’

    महानगरले यात्रु, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा उक्त अभियान थालेको हो ।

    –रासस