जुम्ला/ जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् । सदरमुकाम खलङ्गा बजारबाट सुरु भएको प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो भएको आयोजकले जनाएको छ ।
कुल ५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गरे । दोस्रो भएका त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले उक्त दूरी ६ घण्टा सात मिनेट ५५ सेकेन्डमा र तेस्रो भएका सोमबहादुर रावतले ६ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गरेको कर्णाली स्पोर्टस क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।
महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी भइन् । दोस्रो भएकी राज्यलक्ष्मी रावलले आठ घण्टा ४८ मिनेट ४१ सेकेन्ड र तेस्रो भएकी सन्दिभा बुढाले आठ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गरे ।
अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले एक लाख रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गरे । दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार रुपैयाँ र ५० हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गरेको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए । १० किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए ।
पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भएको क्लबले जनाएको छ । यस वर्षको दौडमा स्वदेशी तथा विदेशी गरी पाँच सय ९१ जना धावक सहभागी भएका थिए । साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस