२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

थपिए गाजा दहका पर्यटकीय पूर्वाधार



  • आफ्नै खबर
  • ३० बैशाख २०८२ मंगलबार (४ हप्ता अघि)
  • पाठक संख्या १९२
  • बागलुङ/  बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित छ । धार्मिक रूपमा महत्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् । 

    जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ । यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन् ।

    अहिले मन्दिर निर्माणको चरणमा रहेको छभने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । 

    ताल वरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत सङ्कलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । 

    उहाँले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत ७२ लाख रुपैयाँ सङ्कलन गरिएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ । स्थानीयको १० लाख रुपैयाँ र महायज्ञको १० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उहाँले बताउनुभयो । 

    ‘गत वर्ष तीन लाख रुपैयाँको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो । अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन् । पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो’, भुजेलले भन्नुभयो, ‘धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ । अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ ।’ 

    गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ । यहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । 

    गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत एक दर्जन हिमऋङ्खला देख्न सकिने यहाँ पुग्नुभएका हिमाल सुवेदीले बताउनुभयो । उहाँले दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।

    सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ । हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘यहाँ बाला चतुदर्शीमा सतबिज छर्नेको घुइँचो लाग्ने गर्दछ । चिसो हावापानीमा गाजा दहको काखमा बसेर घरबासको स्वादिष्ट परिकार खान पाउने व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश सरकारले दहलाई एक सय पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ ।’

    महायज्ञमा सङ्कलन भएको रकम पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गरिने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । उहाँले दहको प्रचारप्रसार र प्रवर्द्धनमा पालिकाले सघाउँदै आएको उल्लेख गर्नुभयो । धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको दहको समग्र विकासका लागि पालिकाले गुरुयोजना बनाउने उहाँले जानकारी दिनुभयो । 

    प्रचारप्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्न गर्न यहाँका स्थानीय अग्रसर भएपछि पूर्वाधार निर्माणले गति लिन थालेको हो । दहको धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, संरक्षण गर्दै ताल परिसरमा सिद्ध बराह भगवान्को पूर्णकदको मूर्ति निर्माण गर्नेलगायत उद्देश्य बनाइएको छ ।

    –रासस