सुनसरी/ तीन वर्ष वैदेशिक रोजगारबाट स्वदेश फर्किनुभएका बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेल अहिले बारीमा च्याउखेती गरेर वार्षिक १८ लाख रुपैयाँभन्दा बढी बचत गरिरहनुभएको छ । दुबईको तातो घाम पसिना र परदेशको पीडाले थिचिएका उहाँ अहिले च्याउको टनेलभित्र हरियाली सपना देखिरहनुभएको छ ।
अजितले दुबईमा काम गर्दा महिनाको ३५ देखी ४० हजार रुपैयाँ कमाउनुहुन्थ्यो तर त्यो पैसाले खासै जीवन चलाउन सजिलो भने थिएन । आफूलाई खाना खर्च अनि घरखर्च पठाउँदै सकिन्थ्यो । बचत त के गर्नु र कहिलेकाहीँ त ऋणै लाग्थ्यो ।
उहाँ भन्नुहुन्छ, ‘गाउँ आएपछि हातमा धेरै पैसा थिएन । तर, मनभित्र एउटा आँट र अनुभव भने थियो । अब विदेश होइन, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ ।’
उहाँले भन्नुभयो, ‘सुरुका दिनमा दुःख र चुनौती भए पनि अहिले व्यवसायले फन्को मार्यो । २०७० सालमा दुईवटा टनेलमा दुई लाख २७ हजार रुपैयाँको लगानीमा सुरु गरेको थिएँ । सुरुमा च्याउ बिक्री गर्न बजारको समस्या निकै थियो । उत्पादन हुन्थ्यो तर बिक्रीका लागि बजारको समस्या, प्रविधिको अभाव, सीप नहुनु र रोगको समस्या आयो । तर, तालिम र अनुभवले समस्या पार गरेँ । विस्तारै बिक्रीका लागि बजारको समस्या पनि हट्यो, अहिले सबै राम्रो छ ।’
अहिले उहाँले १२ टनेलमा च्याउखेती गर्दै आउनुभएको छ । ती टनेलबाट अफसिजनमा दिनहुँ करिब तीन सय केजी बढी च्याउ उत्पादन हुने गरेको छभने सिजनमा ६ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ ।
पुसदेखि फागुनसम्म च्याउ राम्रो उत्पादन हुने सिजन हो । उहाँ भन्नुहुन्छ, ‘त्यो समय राम्रो उत्पादन भए पनि बजारमा मूल्य भने कम हुन्छ । त्यस समय प्रतिकेजी ६० देखि ८० रुपैयाँमा बिक्री गर्नुपर्छ । अहिले भने मैले प्रतिकेजी एक सय ६० देखि एक सय ७० रुपैयाँसम्ममा बिक्री गरिरहेको छु । अहिले यही च्याउखेतीले दिएको राम्रो आम्दानीबाट घरखर्च धनेर वर्षमा १८ लाख रुपैयाँभन्दा बढी मज्जाले बचत हुने गरेको छ ।’
अहिले वर्षमा २२ देखि २४ लाख रुपैयाँसम्मको च्याउ बिक्री हुन्छ । सबै खर्च कटाएर १८ लाख रुपैयाँ बचत गर्ने गरेको उहाँले बताउनुभयो ।
‘सुरुमा बजार अभाव भए पनि अब त्यो समस्या छैन । व्यापारी आफैँ फार्ममा च्याउ खोज्दै आउनुहुन्छ भने केही व्यापारीले हामीलाई दिने च्याउ बाँकी छ कि छैन भनेर फोन गर्छन्’, उहाँ भन्नुहुन्छ, ‘व्यापारी फार्ममै च्याउ खरिद गर्न आउँदा हामीले २० देखि ३० रुपैयाँ कम मूल्यमा दिने गरेका छौँ । आफैँले बजार पुर्याउन सके हामीलाई नाफा हुन्छ । धेरैजसो धरान इटहरी चक्रघटी, कालाबन्जरलगायत स्थानीय बजारमा भने म आफैँले पुर्याउने गरेको छु भने विराटनगर, राजविराजलगायत ठाउँबाट व्यापारी आफँै लिन आउने गरेका छन् ।’
अहिले उहाँले टनेलमा दुई जना युवालाई रोजगारी दिनुभएको छभने बाँकी परिवारलाई पनि यही च्याउखेतीमा रोजगारी मिलेको उहाँ सुनाउनुहुन्छ । देशमा केही छैन भन्ने कुरा त अब पुरानो भयो, काम गर्ने मान्छे अनि इच्छा भयो भने आफ्नै देशमा मनग्य पैसा कमाउन सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘परदेशको कमाइ परदेशमै सकिन्छ । तर केही व्यापार गर्दा सिकेर गरियो भने आम्दानी मनग्य छ ।’ च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता पर्छ भने सधैँ एकनासको व्यापार हुँदैन, तर च्याउखेती कम जग्गा र थोरै लगानीमा पनि राम्रै आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
च्याउखेतीका लागि विशेषगरी पराल र चुन आवश्यक पर्छ । त्यसबाहेक बाँस र खरले छाएको टहरासँगै प्लाष्टिक र झुल पनि चाहिन्छ । च्याउखेतीमा चार–पाँच दिन मज्जाले खटेर काम गरियो भने एक महिनासम्म ढुक्क हुन्छ ।
उहाँले अहिले कन्य जातको च्याउखेती गरिरहनुभएको छ । यसमा विषादीको प्रयोग नगरी उत्पादन गरिने भएकाले स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ अनि बजारमा यसको माग पनि बढ्दो रहेको भुजेलले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस