काठमाडौँ/ पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् ।
काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा सोमबार मुगुको सल्लेरीमा गरिएको अन्तर्क्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकामा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याउनुभयो ।
पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले उत्कृष्ट गन्तव्य रारा संरचनागत रूपमा धेरै विकास भइसकेको बताउनुभयो । नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताउनुभयो ।
रारा इको–टुरिज्म र चलचित्र छायाङ्कन लागि उत्कृष्ट गन्तव्य भएकाले विश्वभरका पर्यटकलाई रारा लैजान पहल गर्नुपर्नेमा निर्देशक ऐरको जोड थियो ।
टीवानका अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भएता पनि सङ्घ तयार रहेको बताउनुभयो । उहाँले सडक छेउका होटल व्यवस्थित गर्न र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक भएको बताउनुभयो ।
उक्त टोलीम बोर्ड, पर्यटक बस व्यवसायी, स्थानीय समुदाय, मुगुका होटल व्यवसायी, रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिलगायको सहभागिता थियो ।
नेपाल पर्यटन बोर्डले काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनको सम्भाव्यता र यससँग सम्बन्धित पूर्वाधार विकासमा आवश्यक समन्वय गर्न प्रतिबद्धता जनाएको छ ।
साथै, रारा क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि होटल स्तरोन्नति, स्थानीय जनशक्ति तालिम, पर्यटक सेवा सुधार तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारलाई प्राथमिकताका साथ अघि बढाइने बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
–रासस
प्रतिक्रिया दिनुहोस