ललितपुर/ वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ । ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गर्नुभएको हो ।
सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उहाँको सम्मानमा जीवित छँदै उहाँको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेका छौँ । उहाँले महानगरपालिकाको नागरिक भएर सेवा पुर्याउनु भएकामा गर्व गर्छौं, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ ।’
महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो । एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ । आगामी दिनहरुमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौं । यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ ।’
महानगरप्रमुख महर्जनले स्व. जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताउनुभयो । १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।
ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पु¥याउनुभएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उहाँको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।
–रासस
प्रतिक्रिया दिनुहोस