२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

सय किसानलाई पालिकाले दियो मौरीसहितको घार



  • आफ्नै खबर
  • १ जेठ २०८२ बिहिबार (४ हप्ता अघि)
  • पाठक संख्या ८४
  • तनहुँ/  बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । 

    मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।’ 

    मौरीसहितको घारको मूल्य नौ हजार रुपैयाँ पर्ने जनाउँदै उहाँले वार्षिक कृषि कार्यक्रमअन्तर्गत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताउनुभयो ।

    पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष तीन लाख रुपैयाँ विनियोजन गरेको थियो । तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ ।

    गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ । 

    तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदैछ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    –रासस