९ असार २०८२ सोमबार | 23 Jun 2025 Mon

युट्युबबाट सीप सिकेर उद्यम



  • आफ्नै खबर
  • १ जेठ २०८२ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या ८०
  • कञ्चनपुर/  पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उहाँ स्वरोजगार हुनुभएको छ ।

    उहाँले महिनामै ६० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्नुहुन्छ । खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु पर्यो । 

    बेरोजगार हुनुभयो तर खाली बस्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच त थियो र लगानीका लागि पैसा थिएन । भर्खरै बजार क्षेत्रमा सृजनशील बचत तथा ऋण सहकारीको शाखा खुलेको थियो । त्यसमा आबद्ध भएर ऋण लिने निधो गर्नुभयो ।

    फेरि ऋण त लिने तर कुन प्रयोजनका लागि लिने भन्नेबारे द्वविधा उत्पन्न भयो । त्यही बेला हो प्रविधिले गरिखाने बाटो देखाउन सघाएको । 

    चन्दले सुनाउनुभयो, ‘इन्टरनेट चलाउथेँ, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिका बारेमा र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्ट्री र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निक्र्यौल गरी व्यवसाय सुरु गरेँ ।’ 

    एक लाख रुपैयाँबाट सुरु गरिएको व्यवसायबाट उहाँले हाल पाँच लाख रुपैयाँको सामान थप्नुभएको छ । युट्युबबाटै सिकेर हाल केक, पेष्ट्री र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिनुभयो । 

    ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उहाँले उल्लेख गर्नुुभयो ।

    बेकरी सामानबाहेक उहाँले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहनुभएको छ । भविष्यका लागि भनेर उहाँले मासिक आठ हजार रुपैयाँजति सहकारीमै बचत गर्दै आउनुभएको छ । 

    चन्दले भन्नुभयो, ‘घरको खर्च पसलकै कमाईले धानिएको छ । छोरीलाई पसलकै कमाईबाटै पढाउन थालेकी छु ।’

    –रासस