११ जेठ २०८२ आईतबार | 25 May 2025 Sun

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्छौं’



  • आफ्नै खबर
  • २ जेठ २०८२ शुक्रबार (१ हप्ता अघि)
  • पाठक संख्या ७८
  • काठमाडौँ/  नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

    इजरायलको ७७ औँ स्वतन्त्रता दिवस तथा नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित स्वागत समारोहमा उहाँले पीडितका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    आतङ्कवादी समूह हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ अध्ययनरत १० जना नेपाली मारिएका थिए । उक्त हमलामा मारिएका नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजदूत बासले उनीहरुका परिवारलाई निरन्तर सहयोग हुने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘इजरायलले आतङ्कवादबाट प्रभावित नेपाली विद्यार्थीका परिवारलाई आर्थिक र नैतिक सहयोग प्रदान गर्दै आएको छ, त्यो निरन्तर रहने छ । नेपालीसहित हमासको आक्रमणबाट पीडित भएका सबैहरूसँग ऐक्यबद्धताका साथ इजरायल उभिएको छ ।’ 

    बहुआयमिक नेपाल–इजरायल सम्बन्धबारे चर्चा गर्दै उहाँले नेपालको  शिक्षा, कृषि, स्वास्थ्य, पूर्वाधार, जलस्रोत, ग्रामीण विकास र सुरक्षालगायत क्षेत्रमा पारस्परिक सहकार्य हुँदै आएको बताउनुभयो ।

    इजरायली राजदूतले चार हजारभन्दा बढी नेपालीले इजरायलका कृषि तथा शैक्षिक केन्द्रबाट तालिम लिएका, नेपालको कृषि आधुनिकीकरण र आर्थिक विकासलाई इजरायल सरकारबाट विशेष सहयोग रहेको तथा आगामी दिनमा सूचना तथा सञ्चार र साइबर प्रविधिका क्षेत्रमा बहुपक्षीय सहयोग विस्तार गर्न आफ्नो देशको सरकार तत्पर रहेको बताउनुभयो । 

    इजरायल सधैँ शान्ति, विकास र मैत्रीको पक्षमा रहेको दोहो¥याउँदै राजदूत बासले मध्यपूर्वमा दिगो शान्ति कायम गर्नु आफ्नो मुलुकको एकमात्र लक्ष्य भएको उल्लेख गर्नुभयो । 

    –रासस