२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

खोपारामा बन्दै पर्यटकीय पूर्वाधार



  • आफ्नै खबर
  • ३ जेठ २०८२ शनिबार (३ हप्ता अघि)
  • पाठक संख्या १४१
  • म्याग्दी/  नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को खोपारा लेकमा पूर्वाधार निर्माण थालिएको छ । खोपारा घुम्न आउने पर्यटकको सहजताका लागि आश्रयस्थल, पदमार्ग र खानेपानी व्यवस्थापनको काम थालिएको हो । 

    गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट पर्यटन तथा उद्योग कार्यालयले उपभोक्ता समितिमार्फत खोपारा पर्यटन पूर्वाधार योजना सञ्चालन गरिएको इञ्जिनियर सुमन बोगटीले जानकारी दिनुभयो । 

    आगामी असारभित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समुद्र सतहबाट तीन हजार ६ सय मिटर उचाइमा रहेको खोपारामा योजना सञ्चालन गर्न पाउद्वार गाउँका मजदुर त्यहीँ बास बसेका छन् । गाउँदेखि आवतजावत गर्न टाढा भएकाले सम्बन्धित ठाउँमै बास बसेर साँझ बिहानको समयमा पनि काम गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि पाइजाले बताउनुभयो । 

    ‘वैशाख दोस्रो हप्तासम्म हिउँ परेर काम गर्न पाइएन’, उहाँले भन्नुभयो, ‘हिजोआज पनि अपराह्न २ बजेपछि पानी परेर पूरै दिन काम गर्न पाएका छैनौँ ।’ गत वर्ष पनि प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटबाट खोपारामा पर्यटन पूर्वाधार निर्माण भएको थियो । 

    सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइ र यात्रा अवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तव्य बनाइएको छ । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयापभित्र) पर्छ । गुराँसको जङ्गलको बीचमा पहाडको टाँकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । 

    अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृष्य अवलोकन गर्न सकिन्छ । पर्यटक आगमन बढेपछि खोपारामा पर्यटन सहकारी संस्थाले सञ्चालन गरेको सामुदायिक लजको क्षमता वृद्धि गर्न आश्रयस्थलको नयाँ भवन निर्माण गर्न लागिएको हो ।

    –रासस