भक्तपुर/ वीर अस्पतालपछि स्थापना भएको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालले स्थापनाको एक सय २० वर्षपछि पहिलोपटक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गर्नुभएको उक्त अस्पतालमा बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान सञ्चालनमा आएको हो ।
उक्त स्क्यान मेसिन (उपकरण) बाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिने अस्पताल प्रशासनले जनाएको छ ।
मेसिन भक्तपुर अस्पतालमा ल्याएसँगै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापा र बागमती प्रदेशसभाका सांसद सुरेश श्रेष्ठले मेसिन जडान क्षेत्रको अवलोकन गरी यथाशीघ्र सञ्चालनमा ल्याएर आमनागरिकलाई सहज र सुलभ सेवा प्रवाह गर्न अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टलाई निर्देशन दिनुभएको थियो ।
स्वास्थ्यमन्त्री थापाले भन्नुभयो, ‘यो वीर अस्पतालपछिको दोस्रो अस्पताल भए पनि विगतमा राज्यले बेवास्ता गर्दा पछाडि परेको थियो । अस्पतालले विस्तारै विकासको गति लिएको छ । मन्त्रालयको बजेट र पहलमा सिटी स्क्यान सञ्चालनमा आएको छ । आगामी दिनमा अस्पताल आउने बिरामी र यहाँका जिल्लावासीले सिटी स्क्यान गर्न काठमाडौँ धाउनु पर्दैन ।’
अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी आठ करोड रुपैयाँ बजेटमा एक सय २८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेर सञ्चालनमा ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री थापाले भन्नुभयो, ‘भक्तपुर अस्पतालमा एक करोड १० लाख रुपैयाँको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ । यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ । यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ ।’
कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले यो अस्पताललाई रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिलाउन सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो ।
सचिव डा. गौतमले भन्नुभयो, ‘सिटी स्क्यान दिने कम्पनीले अबको १० वर्षसम्म मेसिन सञ्चालनमा कुनै समस्या नआउने गरी ‘ग्यारेन्टी’ गर्दै सम्झौता गरेको छ । मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सामग्रीसमेत १० वर्षसम्म पुग्नेगरी व्यवस्था गरेको छ । कम्तीमा १० वर्षसम्म यो मेसिन ढुक्कसँग सञ्चालन हुन्छ ।’
उहाँले अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शय्याको डायलोसिस कक्ष तयार पारिएको जनाउँदै केन्द्रीय सरकारले डायलोसिस मेसिन सहयोग गरे दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सकिने बताउनुभयो ।
अस्पतालका कार्यकारी निर्देशक डा. भट्टले सिटी स्क्यान जडान गरी परीक्षण सम्पन्न गरिएको बताउँदै आइतबार बिहान उद्घाटन गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आउने उल्लेख गर्नुभयो । उहाँले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस