२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

भुइँचालो डाँडामा बन्यो ३० फिटको बुद्धको प्रतिमा



  • आफ्नै खबर
  • ४ जेठ २०८२ आईतबार (३ हप्ता अघि)
  • पाठक संख्या ९२
  • काभ्रेपलाञ्चोक/  बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा निर्माण गरिएको छ । बनेपा–४ स्थित उक्त डाँडामा बाह्य तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बुद्धको मूर्ति निर्माण गरिएको हो ।

    मूर्ति निर्माणका लागि ४० लाख रुपैयाँ खर्च भइसकेको छ । पर्यटकलाई आकर्षित गर्न नगरकोटको फेदी क्षेत्रमा आर्थिक सहयोगमार्फत मूर्ति निर्माण गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नमोबुद्ध नगर कमिटीका अध्यक्ष गणेश मोक्तानले बताउनुभयो । उहाँका अनुसार उक्त मूर्तिमा बौद्ध धर्मअनुसार लामाले पूजा गरेर प्राण प्रतिष्ठान गरिएको छ । 

    नजिकै दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्तिसमेत निर्माण भइसकेकाले धार्मिक सहिष्णुता कायम गर्न पनि बुद्धको मूर्ति निर्माण गरिएको मोक्तानको भनाइ छ । केही वर्षअघि उक्त स्थानमा निर्मित दश अवतारसहित ब्रह्माको पूर्णकदको मूर्ति एसियाको पहिलो भएको मानिएको छ ।

    यस्तै भुइँचालो डाँडालाई धार्मिक एवं पर्यटनको आकर्षक केन्द्र बनाउन ब्रह्माको मूर्ति नजिकै बुद्धको प्रतिमा निर्माण गरिएको स्थानीय बताउँछन् । बुद्धको मूर्ति भएको स्थानमा ‘थेरापी पार्क’ निर्माण प्रक्रिया पनि थालिएको मोक्तानले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘पार्क निर्माणार्थ बागमती प्रदेश सरकारबाट एक करोड ६५ लाख रुपैयाँ बजेट प्राप्त भइसकेको छ । अब थेरापी पार्कको निर्माण थाल्नेछौँ ।’ यस स्थानमा विस्तारै अन्य आवश्यक भौतिक पूर्वाधार निर्माण गर्दै पर्यटकीय स्थलका रूपमा विकास र प्रवर्द्धन गरिने उहाँले उल्लेख गर्नुभयो ।

    –रासस