सुनसरी/ शहर बिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान ।
यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्ने उहाँको कर्म । उहाँले दिनहुँ करिब एक सय ६० घोगा मकै पोलेर बेच्नुहुन्छ । एकदिन वा दुई दिन होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या ।
उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उहाँको सपना झन् तन्नेरी बन्दै गएको छ ।
उहाँ सन्तुष्टि पोख्नुहुन्छ, ‘काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या ! झन् झन् बानी पो पर्दोरहेछ । त्यसैले सुरुआती दिनदेखि हालसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन ।’
मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्ने गरेको उहाँको भनाइ छ । बारीमै मकै ठेक्कामा लिँदा ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई÷तीनजना मिलेर काम भइरहेको उहाँले सुनाउनुभयो ।
श्रेष्ठ थप्नुहुन्छ, ‘साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ ।’
यसरी ल्याइएको मकै प्रतिघोगा सानोको १५ र ठूलो ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक ७० हजारदेखि ८० हजार रुपैयाँसम्म कारोबार हुने गरेको उहाँले बताउनुभयो ।
‘यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ’, श्रेष्ठ भन्नुहुन्छ, ‘काम गर्यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने साहारा नै यही काम छ ।’
हाल उहाँ एकल महिला हुनुहुन्छ । ६ वर्षअघि श्रीमान्को निधन भएको थियो । पहिले श्रीमान्ले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाउनुभयो ।
थकित अनुहारमा आशाको भाव झल्काउँदै उहाँले भन्नुभयो, ‘अब अरू काम गर्न सक्दिन, मकै पोल्नु खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दुःख हुन्छ भनेर काम छोड्न नि भएन ! यसैले सबै चीज दिएको छ ।’
श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आउनुभएको छ । सुरुदेखि नै यहाँ बसेर उहाँले हजारौँलाई स्वादिलो मकै खुवाइरहनुभएको छ । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन । त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ ।’
यो उहाँको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ ।
‘जुन दिन म काममा निस्कन्न, त्यस दिन छट्पटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन हातखुट्टा चलिरहेकै छन् । सकेसम्म काम गर्नुपर्छ‘, मुस्कुराउँदै उहाँ भन्नुहुन्छ, ‘मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाई रहेछ ।’
–रासस
प्रतिक्रिया दिनुहोस