बागलुङ/ झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल एक सय ६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ ।
गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।
पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ ।
जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिनुभयो । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उहाँले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताउनुभयो ।
रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताउनुभयो । उहाँका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी एक सय ६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ ।
जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिनुभयो ।
काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत १८ लाख रुपैयाँ लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सुरुमा ताराखोलाबाट बिरुवा लिएर रोपेका थियौँ । पछि सहकारीकै अगुवाइमा बिरुवा उत्पादन गरेका हौँ । सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि कार्यक्रममार्फत किसानलाई चिया खेतीमा अग्रसरता दिलायो ।’
उहाँले थप्नुभयो, ‘गत वर्ष परीक्षणका रूपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौँ । तर व्यावसायिकता थिएन । हाल चियाको उत्पादनसमेत बढ्दो छ । आफैँ चिया बनाउने उपकरणले चिया उत्पादनमा व्यावसायिकता ल्याउन सहज भएको हो । ग्रिन चिया किलोकै दुई हजारभन्दा बढीमा बिक्री गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाँडेर लगाएको चियाले आयआर्जनमा सघाउनेछ ।’
पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् ।
चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउनुभयो । थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उहाँको भनाइ छ ।
चियाखेती थालेपछि गाउँमा चियाबगान अवलोकनका लागिसमेत पर्यटकहरू आउन थालेका छन् । छ वर्ष अघिसम्म वनमारा झारले ढाकिएको पाखो हाल चिया बगानमा परिणत भइसकेको छ ।
चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक÷टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक रेशको चिया बगानमा आउने गरेका हुन् । यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन–अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् ।
पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न बिहूँको थामानेटामा समेत पहिलोपटक चियाखेती थालिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस