ओखलढुङ्गा/ सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ ।
नगरपालिकाका भण्डार शाखा प्रमुख चुडामणि दाहालका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षमा खरको छानो भएका विपन्न नगरिकलाई टिनको छानो फेर्न १५ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो ।
त्यसमध्ये १२ लाख ८५ हजार रुपैयाँमा ८८ बन्डल जस्तापाता खरिद गरेर १९ परिवारलाई वितरण गरिएको थियो । प्रतिघर तीन बन्डलको दरले ५७ बन्डल जस्तापाता बिहीबार वितरण गरिएको हो ।
आगलागी र मनसुनजन्य जोखिमबाट नगरवासीलाई मुक्त गराउन जस्तापाता वितरणको अभियान सञ्चालन गरिएको नगरका उपप्रमुख केदारबाबु बस्नेतले बताउनुभयो । अभियानलाई आगामी वर्ष पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस