१० जेठ २०८२ शनिबार | 24 May 2025 Sat

चितवनको नयाँ पर्यटकीय गन्तव्य उपरदाङगढी



  • आफ्नै खबर
  • ९ जेठ २०८२ शुक्रबार (१३ घण्टा अघि)
  • पाठक संख्या ७४
  • चितवन/  जिल्लाको पहाडी क्षेत्रमा अवस्थित पुरानो सदरमुकाम उपरदाङगढी नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गर्मी छल्न र सूर्याेदय हेर्न दैनिक त्यहाँ पर्यटक जाने गरेका छन् ।

    इच्छाकामना गाउँपालिका–७ उपरदाङगढीमा ३५ परिवार छन् । ती मध्ये १० घरमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । २०७५ सालदेखि घरबास सुरु गरिएको हो । सिराइचुली होमस्टेका सञ्चालक गणेशबहादुर थापाका अनुसार घरबास नै आफूहरुको आम्दानीको प्रमुख स्रोत हो । 

    सुरुमा यहाँ आएका पाहुनालाई बास बस्न पनि समस्या भएपछि यहाँका स्थानीयले आफ्नै घरमा राख्ने गरेको भए पनि पछि घरबासको अवधारणा अघि सारिएको थापाले बताउनुभयो । हाल दैनिक ६० देखि ७० जनाले यस क्षेत्रको अवलोकन गर्ने गरेका छन् । 

    गाउँमा एक सय ५० जना पाहुनासम्म राख्न मिल्ने व्यवस्था गरिएको अर्का घरबास सञ्चालक  बिलबहादुर थापामगर बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यहाँ पर्यटक आउने समय फागुन–चैतदेखि असोजसम्म हो ।’

    जिल्लाको पुरानो सदरमुकाम गढी भएकाले यसलाई संरक्षण गर्न सकेमा यहाँको विकासमा अझै टेवा पुग्ने उहाँले बताउनुभयो । चेपाङ, गुरुङ र मगर जातिको बाहुल्यता रहेको यस क्षेत्रमा स्थानीय उत्पादनले पाहुनाको स्वागत गरिन्छ । 

    घरबासको कमाइले छोराछोरी पढाउने र घरखर्च चलाउन पुगेको अर्का घरबास सञ्चालक मङ्गलबहादुर थापामगर बताउनुहुन्छ । आफ्नो आयआर्जनको अर्को माध्यम नभएपछि घरबास र खेतीपातीमा रमाएको उहाँ बताउनुहुन्छ । 

    इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उपरदाङ्गढीमा सञ्चालनमा रहेका घरबासलाई प्रवर्द्धनका काम गर्दै आएको बताउनुभयो । घरबास सञ्चालकलाई विभिन्न तालिम दिएको बताउँदै स्थानीय उत्पादन र प्राङ्गारिक खानालाई प्रोत्साहन गरिएको जानकारी दिनुभयो ।

    गढीमा इच्छाकामना गाउँपालिकाले ऐतिहासिक किल्ला, कोतघर, धारालगायत संरचना निर्माण गरिरहेको छ । कोतघर एक करोड ३५ लाख रुपैयाँ खर्च गरेर बनाइएको छ ।

    –रासस