१८ जेठ २०८२ आईतबार | 01 Jun 2025 Sun

फोहरमा भविष्य देखेका स्नातक युवा



  • आफ्नै खबर
  • १२ जेठ २०८२ सोमबार (६ दिन अघि)
  • पाठक संख्या ८०
  • पाल्पा/  हाम्रै भान्सा, घर, अफिस, स्कुल, कलकारखानाबाट दिनहुँ फोहर निस्कन्छ । यसलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने धेरैलाई चिन्ता छ । कसैलाई यो चिन्ताको विषय बनिरहँदा कोही फोहरमै भविष्य देख्नेहरू पनि छन् । 

    तानसेन नगरपालिका–६ पदमेटारीका तीन दाजुभाइले विगत पाँच वर्ष यता फोहरमा मोहर खोज्दै छन् । यहाँका सुशील, उमेश  र टार्जन भण्डारीले तानसेन–७ लामिडाँडामा नेप्लिज वेस्ट बैंक नै सञ्चालन गरी फोहरबाट मोहर खोज्दै आएका हुन् ।

    तानसेन बजारबाट दैनिक निस्कने फोहरले बजार प्रदूषित भइरहेका बेला बजारलाई स्वच्छ र सफा राख्ने हेतुले तीन दाजुभाइ मिलेर कवाडी सङ्कलन र प्रशोधन गरी आम्दानी लिइरहेका छन् । उनीहरुले उद्योग दर्ता गरी केही युवाहरूलाई रोजगारीसमेत प्रदान गरेका छन् । 

    उनीहरुले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तुहरु सङ्कलन गरी प्रशोधन गरेर आम्दानी गरिरहेका छन् ।

    तीनै दाजुभाइले स्नातक सम्मको अध्ययन गरेका छन् । सुशील जसले मेकानिक्स डिप्लोमा सकेर हाल स्नातक गर्दै हुनुहुन्छ, उमेशले विएस्सी सकेर हाल एमए इकोनमिक्समा अध्ययनरत हुनुहुन्छ र टार्जनले विविए पूरा गरिसक्नुभएको छ । 

    तर उहाँहरुमा न विदेश जाने सोच छ नत सरकारी जागिर नै । तीन दाजुभाइको एउटै सोच छ तानसेनलाई फोहरमुक्त सहर बनाउने । सङ्कलित कवाडी वस्तुहरुको वर्गीकरण गरी उनीहरुले भैरहवा, काठमाडौँ, वीरगञ्जलगायत ठूला सहरका रिसाइकल कम्पनीमा पठाउने गरेको सञ्चालक उमेश भण्डारीले बताउनुभयो । केही वस्तुहरु भने आफैँ रिसाइकल गर्ने गरेको उहाँको भनाइ छ । 

    उनीहरुले कवाडी सङ्कलनबाटै वार्षिक ३० देखि ५० लाखसम्म कमाइ गर्दै आएका छन् । कवाडी सङ्कलनका लागि उनीहरुले ६ जनालाई रोजगारी दिएका छन् । यहाँ तीन जना नेपाली र तीन जना भारतीय नागरिकले रोजगार पाएका छन् । 

    सुरुमा पढेका युवाहरुले फोहर सङ्कलन गर्ने काम गर्छन् भन्दा धेरैले गिज्याएका थिए । तर, अहिले उनीहरुको काम देखेपछि धेरैले प्रशंसा गर्न थालेका छन् । 

    उमेश सुरुका दिन सम्झदै भन्नुहुन्छ, ‘सुरुवातमा  हामीलाई यो काम गर्न त्यति सहज थिएन । कसैले सोचेका थिएनन्, पढेका  युवाले  कवाडी सङ्कलन गरेर खालान भनेर । त्यति बेला नत स्थानीय सरकारले सहयोग गर्यो न त समाजमा कसैले साथ दिए । परिवारलाई बुझाउन गाह्रो भो । बरु हामीले फोहर सङ्कलन गरेको देखेर समाजका केही व्यक्तिहरूले त फलाम, प्लास्टिक, बोतल टिप्ने कवाडी भनेर गिज्याए ।’ 

    पहिले–पहिले फोहर सङ्कलनका लागि उनीहरू ग्राहक खोज्दै हिँड्थे । तर, अहिले ग्राहक ‘रिसाइकलर्स’ खोज्दै उनीहरूसम्म आइपुग्छन् । प्रत्येक दिन दुई टनभन्दा बढी कवाडी सङ्कलन हुन्छ । सङ्कलन भएका फोहरलाई त्यसको प्रकारका आधारमा छुट्टाएर पुनः प्रशोधनका लागि सम्बन्धित कम्पनीसँग समन्वय गर्छन् । कवाडीबाट प्राप्त आम्दानीबाट उनीहरुले तानसेन नगपालिकालाई कर बुझाउँदै आएका छन् ।

    –रासस