सर्लाही/ उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख रुपैयाँभन्दा बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो ।
दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी–१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिनुभयो ।
निमित्त प्रमुख यादवका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो । गत वर्ष २१ लाख १५ हजार रुपैयाँमा ठेक्का लागेको थियो । निमित्त प्रमुख यादवले भन्नुभयो, ‘गत वर्ष अफ सिजन थियो । त्यसैले आँप निकै कम फल्यो । ठेक्का कम रकममा लागेको हो ।’
यसवर्ष सिजन भएकाले धेरै फलेको उहाँको भनाइ छ । उत्पादन बढेकाले बागवानीले ७१ लाख ११ हजार रुपैयाँ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो । तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उहाँले बताउनुभयो ।
त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते ५१ लाख ७५ हजार रुपैयाँ मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको होे ।
ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवको भनाइ छ । यस केन्द्रले अहिले सम्मकै धेरै आर्थिक वर्ष २०७९/८० मा एक करोड ११ लाख रुपैयाँमा आँप बिक्री गरेको थियो ।
यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका ६ हजार वटा रूख छन् । त्यसमध्ये वर्सेनि तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ बढी जातको आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादवले बताउनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस