२६ जेठ २०८२ सोमबार | 09 Jun 2025 Mon

बेघरलाई घर बनाइदिँदै जैमिनी नगरपालिका



  • आफ्नै खबर
  • १२ जेठ २०८२ सोमबार (२ हप्ता अघि)
  • पाठक संख्या १०९
  • बागलुङ/  जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ । सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो । 

    नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो । हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं १० राङखानीकी हरिमाया थापा, वडा नं ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।

    सुकुम्वासीको घर निर्माणका लागि तीन लाख रुपैयाँ, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई दुई लाख ५० हजार रुपैयाँ र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका परिवारलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने सापकोटाको भनाइ छ । 

    हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताउनुभयो ।

    नगरपालिकाले १३ सुकुम्वासी, विपद्बाट क्षति घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवस निर्माण गरिरहेको बताउनुभयो । 

    तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद् र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उहाँको भनाइ छ । 

    उपप्रमुख शर्माले भन्नुभयो, ‘कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन । स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ ।’

    लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आउनुभएका जैमिनी नगरपालिका–८का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गर्नुभयो ।

    –रासस