१८ जेठ २०८२ आईतबार | 01 Jun 2025 Sun

मनासलु क्षेत्रमा हालसम्मकै बढी पर्यटक



  • आफ्नै खबर
  • १३ जेठ २०८२ मंगलबार (५ दिन अघि)
  • पाठक संख्या ९१
  • गोरखा/  चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार दुई सय ५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार यो सङ्ख्या अहिलेसम्मकै बढी हो । 

    आव २०८०/८१ मा नौ हजार सात सय ८२, आव २०७९/८० मा सात हजार सात सय पाँच र आव २०७८/७९ मा दुई हजार दुई सय ८४ जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार बर्सेनि पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । 

    एमक्यापले आव २०८१/८२ मा १२ हजार पाँच सय पर्यटक भित्र्याउने लक्ष्य राखेकामा ९८.०७ प्रतिशत लक्ष्य प्राप्त भएको जनाउँदै उहाँले चालु आवमा लक्ष्यभन्दा बढी पर्यटन भित्रिने अनुमान गरिएको बताउनुभयो । 

    ‘कोभिडपछि पर्यटकको आगमन न्यून थियोे’, आयोजना प्रमुख शेरचनले भन्नुभयो, ‘आव २०७७/७८ मा सबैभन्दा कम अर्थात् एक सय ९४ जना पर्यटकमात्र उक्त क्षेत्रमा पुगेका थिए ।’ उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या आव २०७६/७७ मा पाँच हजार तीन सय ३८ र २०७५/७६ मा सात हजार ६ सय ५५ रहेको थियो ।

    उल्लेख्य उठ्छ राजश्व
    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति एक हजार रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको एमक्यापका प्रमुख शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनसक्ने व्यवस्था गरिएको छ ।

    प्रमुख शेरचनले भन्नुभयो, ‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले उक्त क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने छ ।’ निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।

    विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक साताको अनुमति दिने गर्छ । उक्त अवधिभर चुमभ्यालीका लागि पर्यटकीयसिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेमौसममा २५ डलर मात्र बुझाउनु पर्ने एमक्यापका प्रमुख सन्तोष शेरचनले बताउनुभयो । 

    उहाँका अनुसार नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक साताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्ने हुन्छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाको सातवटा वडा पर्छ ।

    साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । जसमध्ये साविकका सामागाउँ, ल्हो, प्रोक र बिही गाविस नुब्री उपत्यकाका रूपमा चिनिन्छन् भने चुम्चेत र छेकम्पार चुम उपत्यकाका रूपमा चिनिन्छ । सन् १९९५ देखि मनास्लु क्षेत्र पर्यटकका लागि खुला गरिएको हो ।

    –रासस