२३ जेठ २०८२ शुक्रबार | 06 Jun 2025 Fri

एउटै ढुङ्गाबाट पुनःनिर्माण सकियो मालिका मन्दिरको



  • आफ्नै खबर
  • १४ जेठ २०८२ बुधबार (१ हप्ता अघि)
  • पाठक संख्या ८९
  • बागलुङ/  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ । एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनःनिर्माण गरिएको हो ।

    जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको हो । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

    बागलुङ नगरपालिका–५ मालिका स्थित शक्तिपीठ मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५४ लाख रुपैयाँबाट मालिका भगवती मन्दिर पुनःनिर्माण थालिएको र अहिले मन्दिरको पुनःनिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिनुभयो । 

    उहाँले मन्दिरसँगै गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी एक करोड रुपैयाँको संरचना तयार भइरहेको बताउनुभयो ।

    अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउने भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहनुभएकाबाट एक हजारदेखि चार लाख रुपैयाँसम्म सहयोग प्राप्त भइरहेको सापकोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा उठेको सहयोगले कुवेरधाम मन्दिरको मूर्ति तयार गरिएको बताउनुभयो । 

    ‘मन्दिर पुनःनिर्माण थालेपछि सहयोग उठ्यो, ५४ लाख रुपैयाँमा पुनःनिर्माण थालिएको मन्दिर र अन्य मन्दिरसँग जोडिएका संरचनासहित एक करोडको पूर्वाधार निर्माण अन्तिम चरणमा छ ।

    परापूर्व कालदेखि मालिकाको थानलाई पूजा गरिन्थ्यो । त्यही थानमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पर्यटन मन्त्रालयको बजेटले पुनःनिर्माण थालिएको थियो’, उहाँले भन्नुभयो, ‘दिव्य शिलालाई घेरेर ढुङ्गा र काठ मात्रै प्रयोग गरेर कलात्मक रुपमा मन्दिर पुनःनिर्माण गरिएको छ । मन्दिरको अन्य संरचना निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।’

    दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढ ल्याएर मन्दिर मिर्नाण गर्ने कार्य चलिरहेको छ । 

    कालिगढबाट ढुङ्गा कुँदिएको, कलात्मक टुँडाल र तामाले छाएको मन्दिर निर्माणले साच्चिकै मौलिकता झल्किन्छ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्बदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

    पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्वका रुपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने चलन रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

    –रासस