आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

कृषकलाई उत्पादन र ब्राण्डिङ गर्ने औजार प्रदान


  • आफ्नै खबर
  • २०८२ जेष्ठ १४, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ३ पाठक संख्या
  • म्याग्दी/  रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकलाई परम्परागत बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ गर्न कृषकलाई अनुदानमा कृषि औजार वितरण गरिएको छ । 

    गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँका परम्परागत जौ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन भएको परियोजनामार्फत कृषि औजार वितरण गरिएको हो । 

    पचहत्तर प्रतिशत अनुदानमा ६७ जना कृषकलाई ३० वटा मिनिटिलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगङ्गा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो । 

    थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, एक सय ६६ थान त्रिपाल, एक सय वटा तीन सय किलोग्राम तौल क्षमताको मेटल बिन दोस्रो चरणमा वितरण गरिने उहाँले बताउनुभयो । 

    सिँचाइका लागि २० एमएमको चार हजार तीन सय ६४ मिटर, २५ एमएमको एक हजार पाँच सय मिटर, ३२ एमएमको चार हजार दुई सय मिटर र ४० एमएमको दुई सय मिटर पाइप वितरण गर्ने क्रममा रहेको कृषि अधिकृत जोशीले बताउनुभयो ।  

    रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले मङ्गलबार कृषि औजार वितरण गर्नुभएको थियो । परियोजनाका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ र गाउँपालिकाले २५ लाख रुपैयाँ बिनियोजन गरेका छन् । 

    लोप हुँदै गएको परम्परागत जौ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनामार्फत जौ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।

    परियोजनामार्फत झिँका दुई सय ८३ परिवार कृषक लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौ र उवाखेती विस्तार भएको । परियोजनामार्फत जौ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको वडा अध्यक्ष शेरमञ्जाले बताउनुभयो । 

    किसानलाई सूचीकरण गरी परम्परागत जौ र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रबिधीसम्बन्धी तालिमसमेत दिइएको थियो ।

    झिँका होटल र होमस्टेमा जौ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कृषि औजार र सामग्रीको प्रयोग गरि जौ र उवाको उत्पादन वृद्धि गरी आयआर्जनमा अग्रसर हुन आग्रह गर्नुभयो । 

    पोसिलो खाद्यान्न जौ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ । जौ हिन्दु धर्मावलम्बीको र जौको सातु बौद्ध धर्मावलम्बीको धार्मिककार्यमा अनिवार्य मानिन्छ । 

    जौको आँटो, पिठोको ढिँडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु