भोजपुर/ नेपाल खनिज पदार्थको राम्रो सम्भावना बोकेको देश हो । देशका धेरै ठाउँमा फलाम खानी रहेका छन् । कतिपय फलामलगायतका खनिज उद्योगहरु सञ्चालनपश्चात् बन्द भएका पनि छन् ।
आफ्नै देशमा रहेका फलाम खानी बन्द हुँदा बाह्य मुलुकबाट फलाम आयात गर्नुपर्ने देशको बाध्यात्मक अवस्था छ । यस्तै चपेटामा परेको छ भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ‘सेल्मे फलाम खानी’ ।
२०१३ सालसम्म सञ्चालनमा रहेको र करिब एक सय ५० वर्षको इतिहास बोकेको यो खानी अहिले बन्द अवस्था छ । खानी सञ्चालनका लागि राज्यले ध्यान दिनुपर्नेमा स्थानीयवासीले माग गरेका छन् ।
दशकौँ अघिसम्म यहाँका कालिगडले यहीँ उत्पादन भएको फलामबाट सामग्रीहरु बनाउँदै आएका थिए । यहाँको फलाम खानी बन्द भएपछि अन्यत्रबाट ल्याइएको फलाममा निर्भर बन्नुपर्ने अवस्था रहेको स्थानीय कालीगडहरु बताउँछन् । राज्यले आवश्यक सम्भावनाको खोज अनुसन्धान गरेर यहाँको खानी सञ्चालन गरिदिए सहजता हुने उनीहरुको भनाइ छ ।
सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामासमेत यहाँबाट निकालिएको फलाम निर्यात हुने गरेको स्थानीय जानकारको भनाइ छ ।
सेल्मे फलाम खानी ऐतिहासिक फलाम खानी रहेकोले राज्यले आवश्यक अध्ययन गरेर उत्खनन्का लागि पहल गर्नुपर्ने स्थानीय कालीगड मनकुमार विश्वकर्मा बताउनुहुन्छ । सेल्मेको फलाम उत्कृष्ट मानिने उहाँको भनाइ छ । यहाँको फलाम खानीलाई सञ्चालनमा ल्याउनसके स्थानीयको आर्थिक अवस्थामासमेत सुधार आउने विश्वकर्मा बताउनु हुन्छ ।
उहाँले भन्नुभयो, ‘राज्यले सेल्मे फलाम खानीको सञ्चालनका लागि अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।’ यहाँ फलाम उत्खनन गरिएका खाल्डाहरुसँगै फलामका धाउ तथा किट अहिले पनि देख्न सकिन्छ । यहाँको फलामलाई निकै उत्कृष्ट फलामका रुपमा लिइन्छ । यहाँका फलामबाट सयौँ वर्षअघि निर्माण गरिएका सामग्री अहिले पनि गाउँघरमा पाइन्छ ।
अग्रजहरुले यहीँको फलाम प्रयोग गरेर कालीगड पेसा गरिरहेको भए पनि अहिलेको पुस्ताले बाहिरको फलाम खरिद गरेर पेसा धान्नुपर्ने अवस्था रहेको विश्वकर्मा बताउनुहुन्छ ।
सेल्मे गाउँका धेरैले व्यावसायिक रुपमा कालीगड पेसा गर्दै आएको भए पनि विभिन्न समस्याका कारण पेसा छोड्नेको सङ्ख्या बढ्दै भएको उहाँको भनाइ छ । यो खानी सञ्चालन भए स्थानीयस्तरमा रोजगारीको सिर्जना हुने उहाँले बताउनुभयो ।
सेल्मेमा उत्खनन गरिएको फलाम निकै उत्कृष्ट रहेकाले अहिले पनि गाउँघरमा यहाँका फलामबाट निर्माण गरिएका सामग्री पाउन सकिने स्थानीय कालीगड हर्कराज विश्वकर्माले बताउनुभयो । आफ्ना पुर्खाले यही नै फलाम उत्खनन गरेर आवश्यक सामग्री निर्माण गर्ने गरेको उहाँको भनाइ छ ।
भोजपुरे खुकुरी भोजपुरको गौरव रहेकाले यहीँको फलामको प्रयोग गरेर उद्योग सञ्चालन गर्न सकिने अर्का कालीगड तीर्थकुमार विश्वकर्माकोे भनाइ छ । यहीँको फलाम प्रयोग गरेर खुकुरी बनाउन सके भोजपुरको पहिचानलाई विश्वसम्म पु¥याउनमा सहयोग पुग्ने उहाँको धारणा छ ।
‘भोजपुर खुकुरीले चिनिएको जिल्ला हो’, उहाँले भन्नुभयो, ‘यहाँ धेरै प्रकारका भोजपुरे खुकुरी बन्छन् । विडम्बना यहाँको फलाम खानी बन्द हुँदा आयातित फलामबाट बनाउनुपर्ने अवस्था छ । यहिको फलामबाट बनाउने हो भने यसले छुट्टै महत्व झल्काउने थियो ।’
सेल्मे क्षेत्रका करिब नौ परिवारले अहिले पनि व्यावसायिक रुपमा कालीगड पेसा गरिरहेका छन् । ‘बाजेबराजुले यहिको फलामबाट आरन उद्योग सञ्चालन गर्नु हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘हाम्रो पालोमा आउँदा खानी बन्द भएको अवस्था छ ।’
वडाध्यक्ष नवराज माङ्गपाहाङ्गका अनुसार यहाँको सेल्मे, देवी खोला, छोक्लालगायत स्थानमा फलामको धाउ पाइन्छ । सेल्मे क्षेत्रमा रहेको फलाम खानीलाई पुनःसञ्चालन गर्न सकिएमा हजारौँलाई रोजगारी दिन सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।
देशकै सम्पत्तिका रुपमा रहेको सेल्मे फलाम खानी सञ्चालनका लागि राज्यले ध्यान दिन जरुरी रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । यो फलाम खानी सञ्चालनको लागि प्रदेश सरकार र केन्द्र सरकारले ध्यान दिन आवश्यक रहेको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।
‘यो खानी सञ्चालनका लागि वडा तहबाट काम गर्न सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘हाम्रो तहबाट राज्यको निकायमा यहाँको सम्भावनाको विषयमा जानकारी गराइरहेका छौँ । यसलाई सञ्चालनमा ल्याउनसके भोजपुरको मात्र नभएर देशको आर्थिक अवस्थामा टेवा पुग्ने देखिन्छ ।’
–रासस
प्रतिक्रिया दिनुहोस