१८ जेठ २०८२ आईतबार | 01 Jun 2025 Sun

आफ्नै खबरका सम्पादकलाई पितृशोक



  • सुदीप कुमार ढुङ्गाना
  • १६ जेठ २०८२ शुक्रबार (१ दिन अघि)
  • पाठक संख्या ४२१
  • काठमाडौँ/  आफ्नै खबर अनलाइन पत्रिकाका सम्पादक आलोक चालिसेलाई पितृशोक परेको छ । सम्पादक चालिसेका पिता वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको शुक्रबार दिउँसो नेपाल मेडिकल कलेजमा निधन भएको हो । 

    क्यान्सर रोगबाट पीडित ७४ वर्षीय चालिसे केही समययता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । हाल घरमै आराम गरिरहनुभएका उहाँलाई अचानक कमजोरीले सताएपछि शुक्रबार बिहानै अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । बिहान सवा १० बजे अस्पतालमै उहाँको निधन भएको हो ।

    आरुबारी निवासी चालिसेको आजै गोकर्णेश्वर घाटमा अन्तिम संस्कार गरिएको छ । उहाँको पार्थिव शरीरमा संघीय संसद अर्थ समितिका सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, उपप्रमुख सान्नानी लामाले राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो । 

    चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व सम्पादक हुनुहुन्थ्यो । उहाँले साहित्यिक पत्रिका मधुपर्क र युवामञ्चको सम्पादकका रुपमा समेत काम गर्नुभएको थियो । प्रेस स्वतन्त्रताका अग्रणी चालिसे प्रेस चौतारी नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो ।

    चालिसे लामो समयदेखि नेपाली साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको थियो । बालकथा लेखनमा उहाँको उल्लेखनीय योगदान रहेको छ । उहाँले पत्रकारिता, आख्यान तथा बालसाहित्य विधामा दर्जनौं पुस्तक लेख्नुभएको छ । केही समयअघि उहाँको उपन्यास ‘युगसन्धि’ प्रकाशनमा आएको थियो ।

    चालिसे वरिष्ठ साहित्यकार रमेश विकलका छोरा हुनुहुन्छ । उहाँ विकल जीवितै रहँदा रोचक घिमिरेको अध्यक्षतामा स्थापित रमेश विकल प्रतिष्ठानको महासचिव हुनुहुन्थ्यो । घिमिरेले भन्नुभयो, ‘म अध्यक्ष रहे पनि विजयकै अग्रसरतामा प्रतिष्ठान समृद्ध भयो । आफ्नै भवन, सभाहलदेखि पुस्तकालयसम्मको विकास उहाँकै निरन्तर प्रयासको नतिजा हो ।’

    पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उहाँको पूरा नाम विजयकुमार चालिसे हो । नेपालीमा एमए र बिएड तथा बेलायतबाट पत्रकारितामा डिप्लोमा गर्नुभएका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

    गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उहाँलाई ५० हजार राशिको ‘रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको थियो । उहाँ आफ्नो जीवनकालमा दर्जनौ पुरस्कार तथा सम्मानद्वारा सम्मानित हुनुभएको छ ।

    २००८ असार २२ गते शुक्रबार जोरपाटी आरुबारी काठमाडौँमा जन्मिनुभएका चालिसे लामो समयदेखि कथा, उपन्यास र नाटकमार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो ।

    उहाँले आफ्नो जीवनको लामो समय शिक्षण पेशामा पनि बिताउनु भयो । २०२२ सालमा आरुबारीमा रहेको अरुणोदय माविमा शिक्षण पेशामा जोडिनुभएका उहाँ गोरखापत्र दैनिकको प्रधान सम्पादक हुनुभन्दा अघि अर्थात २०४९ सालसम्म शिक्षण पेशामा पनि समर्पित हुनुहुन्थ्यो । 

    उहाँले जोरपाटीको चामुण्डा माध्यमिक विद्यालय तथा चावहिलको पशुपति बहुमुखी क्याम्पसमा पनि अध्यापन गराउनु भयो । गोरखापत्र दैनिकको प्रधान सम्पादक भएपछि कार्य व्यस्तताले उहाँले शिक्षण पेशा छोड्नुभएको थियो । 

    आफ्नै खबर परिवार दिवंगत विजय चालिसेको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्य धारण गर्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछ ।